
पोखरा। लेखनाथ क्लवले सामुदायिक बहुउद्देश्यीय भवनलाई सहयोग गर्न अपिल गरेको छ । क्लवले पोखरा महानगरपालिका वडा नं. २७ घरेलु चौरमा निर्माणाधीन सामुदायिक बहुउद्देश्यीय भवनलाई सम्पन्न गर्न आर्थिक अभाव भएको भन्दै सर्वसाधारण , स्थानीय संघसंस्था, नगरपालिका तथा प्रदेश सरकारलाई सहयोग गर्न अपिल गरेको हो ।
वि.सं. २०८० मा वडा नं. २७ को २० लाख रुपैयाँ र जनसहभागिताको १२ लाख रुपैयाँ गरी जम्मा ३२ लाख रुपैयाँमा बहुउद्देश्यीय भवन निर्माणको काम शुरू भएको क्लवका अध्यक्ष बालगोपाल श्रेष्ठले जानकारी दिए ।
पछिल्लो समय बालबालिका कुलत तथा दुर्व्यसनमा लाग्ने गरेको भन्दै श्रेष्ठले भने ,” हामीले बालबालिकालाई जबर्जस्ती यो नगर त्यो नगर भन्छौ । विकल्पमा अन्य क्रियाकलापमा संलग्न गराउन आवश्यक छ । केटाकेटीलाई खेलकुद मनोरञ्जन साथै समाजमा घुलमिल हुने वातावरण बनाउनु पर्छ । त्यसका लागि हामीले यो भवनको आवश्यकता ठानेका हौं ।”
वडामा भएका सार्वजनिक खाली जमीन अतिक्रमण हुँदै गएको भन्दै संरक्षण तथा स्थानीयहरूले सामूहिक रुपमा उपभोग गर्न मिल्ने गरी बहुउद्देयीय भवनको निर्माण शुरु गरेको क्लबका सल्लाहकार मथुरा कुमार श्रेष्ठले बताए । यस्तै आर्थिक पारदर्शिताको कुरामा आफूहरु सचेत रही काम गर्दै आएको पनि उनले बताए ।
पोखरा महानगरपालिका वडा नं. २७ का अध्यक्ष पूर्ण कुमार गुरुङले सामुदायिक बहुद्देश्यीय भवनको लागि क्लबलाई सधैँ वडाको साथ र सहयोग रहने प्रतिबद्धता गरेका छन् । सार्वजनिक जमीन संरक्षणमा क्लबले बेला बेला वडासँग छलफल गरी निर्णय गरेको भन्दै भवन सम्पन्नको लागि गर्न सक्ने सहयोग गर्ने बताए ।
८ रोपनी क्षेत्रफलमा एक फुटबल मैदान र भवन बन्न लागेको हो । बन्दै गरेको भवनमा ब्याडमिन्टन कोर्ट, योग तथा ध्यान शिविरको लागि हल, सामुदायिक कार्यक्रमहरूको लागि कार्यक्रम हाल रहने क्लबका सचिव सन्दिप थापाले जानकारी दिए ।
२०५२ सालमा गठन भएको यस क्लव सामाजिक कार्यमा सधैं सक्रिय रहँदै आएको छ । बहुउद्देश्यीय भवन निर्माणको लागि वडा कार्यालय, गण्डकी प्रदेश सरकारको र जनसभागिता गरी अहिले सम्म ४० रूपैयाँ लाख खर्च भइनसकेको छ ।
वडा कार्यकाल आर्थिक वर्ष २०८१/८२ मा रु ५ लाख वडा २७ कार्यालय र वड नं. २६ र २७ को पहलमा नगरपालिका बाट १० लाख परेको जानकारी पाएको क्लवले जनाएको छ । इन्जिनियरहरुको स्टामेट अनुसार यस बहुउद्देश्यीय सामुदायिक भवन सम्पन्नको लागि कुल ९६ लाख रुपैयाँ लागत लाग्ने अनुमान रहेको छ ।