
सागर ढकाल / पाेखरा । पछिल्लाे समय भड्किलाे बन्दै गएको तीजमा मौलिक तीज भाकाहरु पस्कन सुशान्त आमा समूह पाेखरा १७ ले बुधवार तिज गित प्रतियाेगिता गरेकाे छ ।
समूहले नेपाली नारीहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा तीज विशेष शुभकामना आदानप्रदानसँगै सामूहिक र एकल गायन प्रतियाेगिता गरेकाे हाे ।
प्रतियाेगितामा सामूहिक गायनतर्फ मेनरोड समूहका अम्बिका सुवेदी, पवित्र पौडेल, सरस्वती क्षेत्री लक्ष्मी पराजुली प्रथम भएका छन् भने स्याङ्जाली मार्ग समुहका सगुन पौडेल, शिला सिग्देल, ख्यामकुमारी पौडेल, जमुना चापागाई द्वितीय भएका छन् । साथै माछापुच्छ्रे मार्ग समुहका पारु देवकोटा, टिका पौडेल, धनकुमारी क्षेत्री, देवी पौडेल तृतीय भएका छन् ।
यसैगरी एकल गायनतर्फ पवित्र पौडेल प्रथम अम्बिका सुबेदी द्वितीय र पारु देबकोटा तृतीय भएका छन् ।
विजेता प्रतियोगीलाई आमा समूहका अध्यक्ष पवित्र थापा रेग्मी लगायतले प्रमाणपत्र र उपहारले पुरस्कृत गरे।
प्रतियाेगितामा समूहगत प्रस्तुतीतर्फ ११ वटा समूह एकल गायनतर्फ ७ जना सहभागी थिए।
कार्यक्रममा शुभकामना दिदै प्रमुख अतिथि पाेखरा १७ का वडाध्यक्ष राधिकाकुमारी शाहीले तीज पर्वकाे माैलिक संस्कृतिलाई जाेगाईराख्न सबै लाग्नुपर्ने बताईन् ।तिजको सादापन अहिले रङ्गीविरङ्गी मात्र होइन भड्किलो र ज्यादा खर्चिलो बन्दै गएको छ। पछिल्लाे समय तीजमा माैलिकता भन्दा उच्छृखता भएकाेमा उनकाे गुनासाे छ ।
कार्यक्रममा लोकगायक घनश्याम रिजाल र लोकगायिका सरास्वती लामिछानेकाे साथमा आमा समूहका दिदिबहिनीहरुले माैलिक तीज गीतहरु गाउँदै नाच्दै रमाईलाे गरेका थिए ।
सुशान्त आमा समूहका अध्यक्ष तथा तीज विशेष कार्यक्रमका संयाेजक पवित्रा थापा रेग्मीले नेपाली संस्कार संस्कृति पर्वलाई भड्किलाे नबनाउन आग्रह गरिन् ।