पोखरा । कास्की जिल्लामा मानव वेचविखन र जबरजस्ती करणीको घटनामा संलग्न तीन जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।
कास्की जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले Snow Land Hotel को Visa Youth Hostel Pvt. Ltd. स्थित कोठामा चार जना बालिकाहरुलाई राखी शारीरिक शोषण गरिएको सूचना प्राप्त गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेर तात्कालिक रुपमा बालिकाहरुलाई उद्धार गरेको हो।
प्रहरीले घटनामा संलग्न तीन व्यक्तिहरूलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा गोरखा जिल्लाको पालुङ्टार गाउँपालिका वडा नं. ४ स्थायी घर भएकी ममता तामाङ, मकवानपुर जिल्लाको बाग्मती गाउँपालिका वडा नं. ८ स्थायी घर भएकी रीना तामाङ , र नवलपरासी जिल्लाको मध्यबिन्दु नगरपालिका वडा नं. १० स्थायी घर भएकी जस्मिन ठकुरी रहेका छन्।
बालिकाहरुलाई राम्रो कामको प्रलोभनमा पारी कोठामा राखी बाहिर निस्कन नदिई, उनीहरूसँग शारीरिक सम्पर्क गर्न बाध्य पारिएको थियो। यस घटनामा संलग्न तीनै व्यक्तिहरूलाई कास्की जिल्ला अदालतबाट मानव वेचविखन र ओसार पसार मुद्दामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
यस घटनामा प्रहरीले तत्कालै पहल गर्दै अनुसन्धानमा गम्भीर ध्यान दिएको छ र यस्ता आपराधिक गतिविधिहरूको नियन्त्रण र रोकथामका लागि थप कडा कदम चाल्न आवश्यक रहेको स्पष्ट पारेको छ।