लैंङ्गिक हिंसाविरुद्धको अभियानमा जुट्दै जोण्टा क्लव अफ पोखरा, सडक नाटकसंगै द्विप प्रज्वलन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । लैंङ्गिक हिंसाविरुद्धको अभियानमा विभिन्न कार्यक्रमको आयोजना गर्र्दै आएको जोण्टा क्लव अफ पोखराले चेतनामुलक सडक नाटकसंगै द्विप प्रज्वलन गरेको छ ।

मानवअधिकार चोकमा आयोजित कार्यक्रममा पोखरा थिएटरका कलाकारहरुसंगको सहकार्यमा सडक नाटक ‘दविएका आवाजहरु ’ प्रस्तुत गरिएको हो । त्यसैगरि हिंसारहित समाज निर्माण गरौं भन्दै द्विप प्रज्वलनमा सहभागिहरुले मानवअधिकार चोकदेखि विपि चोक हुँदै पुन ः मानवअधिकार चोकसम्म द्विप प्रज्वलन गरे ।

सो अवसरमा बोल्दै कार्यक्रमा संयोजक बन्दना कार्की केसीले जोण्टा क्लव अफ पोखराद्वारा सञ्चालित अभियानले सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अब संस्थागत, समाज र सबैले लैंगिक हिंसा, भेदभाव हुन दिनेछैनौं भनेर संकल्प गर्नुपर्ने कार्कीको भनाई थियो । ‘यो अभियानले हामी सबैलाई यही प्रेरणा प्रदान गरोस् ’–कार्कीले भन्नुभयो । अभियानलाई सार्थक पार्न सहकार्य गर्ने सम्पूर्ण सहयोगी हातहरुप्रति उहाँले कृतज्ञता जाहेर गर्नुभयो ।

कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष रोजिना रंजित बिजुक्छे १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको जानकारी दिनुभयो ।

सन् १९८० देखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यसको अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्धको विभिन्न अभियान सुरु भएको उहाँले जनाउनुभयो । नेपाल प्रहरी, गण्डकी प्रदेश प्रमुख डिआइजी दुर्गा सिंहले कुनैपनि प्रकारका लैङ्गिक हिंसा र विभेवविरुद्ध खुलेर बोल्न कार्यक्रमका सहभागिहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रम सञ्चानलका क्रममा क्लवका सचिव सिर्जना कार्कीले नेपाल सरकारले हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रुपमा मनाउने निर्णय अवगत गराउँदै जोण्टाले पनि यो अभियानमा हरेक वर्ष हातेमालो गर्दै आएको जनाउनुभयो ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ, रेवान पोखराका उपाध्यक्ष बसन्त गौतम, पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, आयोजक क्लवका निवर्तमान अध्यक्ष मोनिका थापा, पोखरास्थित विभिन्न विद्यालयका विद्यार्थी तथा समाजका अन्य अगुवाहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा जोण्टको अभियानमा सहयोग गर्ने सहयोगीहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो । अभियान अन्तर्गत क्लवले यसअघि पोखरामा अन्र्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्