तप्राङ्मा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । इनर व्हिल क्लब अफ पोखराको आयोजना र नेपाल परिवार नियोजन संघ, कास्की शाखाको प्राविधिक सहयोगमा मादी गाउँपालिका–६, तप्राङ्मा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरमा यौनजन्य संक्रमणको परामर्श तथा परीक्षणसँगै पाठेघरको मुखको क्यान्सर परीक्षण गराइएको थियो। झण्डै एक सयभन्दा बढी स्थानीयले यस शिविरबाट प्रत्यक्ष लाभ लिएका छन्। शिविर सञ्चालनका लागि अमेरिका निवासी देवीरमण सापकोटाले आर्थिक सहयोग गर्नुभएको थियो भने स्त्री रोग विशेषज्ञ डा. चुम माया पुनले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो।

शिविर उद्घाटन गर्दै मादी गाउँपालिका–६ का वडा अध्यक्ष दिल बहादुर क्षेत्रीले सामाजिक संघसंस्थासँग समन्वय गरी यस्ता कार्यक्रमलाई निरन्तरता दिन आफू सधैं तयार रहेको बताउनुभयो। उहाँले स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रका जनतालाई धेरै लाभ पुर्‍याउने धारणा राख्नुभयो।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देल र पोखरा महानगरपालिका–१३ की वडा सदस्य रजनी परियारले सरकार र गैरसरकारी संस्थाबीच सहकार्यले मात्र स्थायी उपलब्धि हासिल गर्न सकिने बताउनुभयो।

इनर व्हिल क्लब अफ पोखराका अध्यक्ष रेष्मा वैद्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबकी संस्थापक अध्यक्ष सोनु सिग्देल, तप्राङ स्वास्थ्य चौकीका इञ्चार्ज शोभाकान्त पौडेल, र महारुद्र माविका प्रधानाध्यापक डिल्लीराम देवकोटाले पनि आफ्नो विचार व्यक्त गर्नुभएको थियो।

शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउन ठूलो योगदान पु¥याएको स्थानीयहरूले बताएका छन्। यस्ता कार्यक्रमले महिलाको स्वास्थ्यप्रति जागरुकता बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्