
पोखरा । नेपाल ठकुरी संगम कास्कीको २६ औं साधारण सभा तथा दशौं अधिवेशनले याम हमाल ठकुरीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ।
समितिको वरिष्ठ उपाध्यक्षमा हिरा बिक्रम शाही, द्वितीय उपाध्यक्षमा कृष्ण बहादुर चन्द, सचिवमा रबिन्द्र बम मल्ल, र सदस्यहरूमा नितु शाही, दिल कुमारी खाँण, सन्तोष मल्ल, र दीपक मल्ल निर्वाचित भएका छन्।
नव निर्वाचित अध्यक्ष याम हमालले निर्वाचन मण्डल तथा सहयोग गर्ने सम्पूर्ण सदस्यलाई धन्यवाद दिंदै ठकुरी समुदायको हकहित, एकता र गरिमालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले ठकुरी समुदायको पहिचान र हितका लागि प्रभावकारी योजनाहरू लागू गर्ने वाचा गरे।
कार्यक्रममा नेपाल ठकुरी महासंघका केन्द्रीय अध्यक्ष खिम बहादुर शाहीले ठकुरी समुदायको गरिमा वृद्धि गर्न, आर्थिक पारदर्शिता कायम राख्न र सामाजिक उत्तरदायित्वलाई पहिलो प्राथमिकतामा राख्न आफू सधैं तत्पर रहने बताउनुभयो।
निर्वाचन संयोजक बिरेन्द्र हमालले निर्वाचन प्रजातान्त्रिक प्रक्रियाको महत्वपूर्ण पक्ष भएको भन्दै, “जो जिते पनि यो ठकुरी संगम कास्कीको सामूहिक जित हो,” भन्दै सबैलाई मिलेर अघि बढ्न सुझाव दिए।
कार्यक्रममा संगमका सल्लाहकार दुर्गा बहादुर शाह, अनिल कुमार शाही, दर्शन बचत तथा ऋण सहकारीका अध्यक्ष राजाराम शाही, ठकुरी महिला परिवार कास्कीकी अध्यक्ष सरस्वती हमाल, र ठकुरी युवा परिवार कास्कीका अध्यक्ष रमेश हमालले नवनिर्वाचित टिमलाई बधाई ज्ञापन गरेका थिए।
निर्वाचन संयोजक बिरेन्द्र हमालले नवनिर्वाचित टिमलाई सपथ गराउँदै एकतामा आधारित नेतृत्वको अपेक्षा व्यक्त गरे ।यस अधिवेशनले ठकुरी समुदायको भविष्यप्रति नयाँ आशा र विश्वासको सञ्चार गरेको छ।