घाचोकमा निर्माण भएको नाना मोहन जेष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन तथा हस्तान्तरण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्वर १ घाचोकको देउवुजेमा जेष्ठ नागरिक सेवा केन्द्र भवन निर्माण भएको छ । आमा स्मृति फाउण्डेसनको पहलमा ईहमान फाउण्डेसन जर्मनी, आमा स्मृति प्रतिष्ठान माछापुच्छ्रे गाउँपालिका र नाना मोहन आश्रमको सहयोगमा सेवा केन्द्र भवन निर्माण भएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नवनिर्मित भवनको उद्घाटन गर्दै उनले सेवा केन्द्र सञ्चालनका लागि सरकारले पनि सहयोग गर्ने बताए।

उनले जेष्ठ नागरिकका स्वास्थ्यचौकी र आवासीय सुविधासहितको भवन बनाउने कार्यले राज्यलाई नै सहयोग पुगेको भन्दै उनले थप आवश्यक पर्ने सामग्रीका लागि अर्थमन्त्रालयमा प्रस्ताव लगेर सहयोग गर्ने बचन दिएका हुन् ।

अर्को प्रसंगमा मन्त्री गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताए ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरु शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुङ्गो लगाउने सरकारको योजना रहेको उल्लेख गरे ।’

आमा स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष वसन्तराज दवाडीले आवासीय सेवा केन्द्र भवन निर्माण सम्पन्न भएपनि अबको तीन महिनामा सञ्चालनमा आउने जानकारी दिए । हालसम्म पाँच करोडको लागतमा भवन बनेको भएपनि उक्त भवनमा आवश्यक पर्ने सबै पूर्वाधार निर्माणका लागि अझै थप दुई करोड रुपैयाँ लाग्ने उनको भनाई छ ।

 

निर्माण भएर शनिबार उद्घाटनलगत्तै ईहमान फाउण्डेसन जर्मनीले स्थानीय आमा स्मृति प्रतिष्ठानलाई भवन हस्तान्तरण गरेको छ ।
सेवा केन्द्रमा स्वास्थ्यचौकी राखेर स्वास्थ्य सेवासमेत दिईने भएको छ । एक जना एमविविएस डाक्टर र अन्य नर्ससहितको सेवा दिईने प्रतिष्ठानका अध्यक्ष गुणाखर दवाडीले जानकारी दिए ।

सेवा केन्द्रमा सिंगल, डबल र ट्रिपल बेडहरु रहनेछन् । भान्छा, बगैंचा र सामान्य पार्कसहितको सेवाकेन्द्रमा सुरक्षाकोसमेत प्रबन्ध मिलाइएको अध्यक्ष दवाडीले जानकारी दिए । वृद्धाश्रम भित्रै अडियो, भिडियो कक्षसहितको पुस्तकालय राखिनेछ भने वृद्धवृद्धाहरुका लागि मल्टिमिडिया कक्ष, योगा, मेडिटेसनलगायतका सुविधापनि रहने उनको भनाई छ ।

सेवा केन्द्रमा ६५ वर्ष माथिका असहाय, गरीब तथा विपन्न परिवारका बृद्ध,बृद्धाहरुलाई निःशुल्क राखिने जनाइएको छ । केहिलाई सशुल्कसमेत राखिने अध्यक्ष दवाडीले बताए । उनका अनुसार धनसम्पती तथा छोराछोरी भएकाले वृद्धाश्रममा बस्नका लागि मासिक शुल्क तिर्नुपर्नेछ ।

महिला र पुरुषका लागि छुट्टाछुट्टै ब्लक निर्माण गरिएको सेवा केन्द्रमा पहिलो चरणमा महिला र पुरुष २०/२० जना गरेर कुल ४० जना राखिनेछ । पछि बिस्तारै सेवा केन्द्रको क्षमता बिस्तार गरेर ५०/५० जना महिला/पुरुष राखिने संस्थापक अध्यक्ष दवाडीले बताए ।

सेवा केन्द्र भवनको उद्घाटनको अवसरमा सेवा केन्द्र निर्माणका लागि सहयोग गर्ने जर्मनीको ईहमान स्टिफटुङ साभोग्निन स्वीजरल्याण्डलाई सम्मान गरिएको थियो । कार्यक्रममा आमा स्मृति प्रतिष्ठानले ईहमान स्टिफटुङ साभोग्निन स्वीजरल्याण्डका प्रतिनिधिहरु माथियाज मारिया डोल्ड, अन्नेट कोबर, एन्जेलिका मार्टिना ईर्सित लुथर र गेरहार्ड जोसेफ होचग्रिबरलाई दोषल्ला ओढाएर सम्मान गरेको हो ।

त्यस्तै सेवा केन्द्र भवन निर्माणका लागि जग्गा दान गर्ने स्वर्गिय नाना गुरुङ र मोहन गुरुङको स्मृतिमा उनका छोरा तथा माछापुच्छ्रे गाउँपालिकाका संस्थापक अध्यक्ष कर्णबहादुर गुरुङसहित उनका दाजुभाईहरु दुर्गाबहादुर गुरुङ, बरबहादुर गुरुङ र छोरी शुकमाया गुरुङ तथा उनीहरुका परिवारका सदस्यहरुलाईपनि सम्मान गरिएको थियो ।

सो अवसरमा ईहमान स्टिफटुङ साभोग्निन स्वीजरल्याण्डका प्रतिनिधि माथियाज मारिया डोल्डले ज्येष्ठ नागरिकका लागि भवन निर्माणमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । साथै आगामी दिनमापनि सहयोग जारी राख्ने उनले प्रतिबद्धता जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्