
पोखरा । रोटरी क्लब अफ पोखरा न्यूरोड, रोटरी क्लब अफ नक्साल शक्ति, रोटरी क्लब अफ पोखरा क्यापिटलको संयुक्त आयोजना, फेदीखोला गाउँपालिका वडा नं. ३ को सहकार्य र गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा शनिबार भाटखोलामा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निशुल्क भिआइए (भिजुअल इन्स्पेक्सन विथ एसीटिक एसिड) परीक्षण सम्पन्न भएको छ।
कार्यक्रममा ८७ जना महिलाको परीक्षण गरियो। जसमध्ये ६ जनामा भिआइए पोजिटिभ देखिएकोले थप परीक्षण तथा उपचारका लागि गण्डकी मेडिकल कलेजमा रिफर गरिएको छ।
रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष दिपेन्द्र शर्माका अनुसार, सन् २०२४/२५ मा कास्की, स्याङ्जा, तनहुँलगायतका जिल्लाका १५०० भन्दा बढी महिलाको भिआइए परीक्षण गर्ने लक्ष्य राखिएको छ। यसअघि पोखरा महानगरपालिका वडा नं. १६ र ७ मा शिविर सम्पन्न भइसकेको जानकारी उनले दिए।
फेदीखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष कृष्ण बहादुर रानाभाटले वडामा कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए। वडा सदस्य, स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थाहरुको पहलले शिविर सफल भएको बताउँदै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमको अपेक्षा व्यक्त गरे।
कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्यूरोडका पूर्व अध्यक्ष प्रेम शर्मा, रोटरी क्लब अफ पोखरा क्यापिटलका संस्थापक अध्यक्ष सन्तोष सेन, भाटखोला स्वास्थ्य चौकी प्रमुख कविता गौतम, गण्डकी मेडिकल कलेजकी स्त्री रोग विशेषज्ञ डा. बालकुमारी साह र स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटलगायतले मन्तव्य राखेका थिए।
यो स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रका महिलाहरूमा पाठेघरको क्यान्सरसम्बन्धी स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकले बताएका छन्।