पोखरामा चार दिने योग प्रज्ञा साधना ध्यान शिविर

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा मानसिक शान्ति, ध्यान र आत्मज्ञानलाई प्रवर्द्धन गर्ने उद्देश्यले चार दिने योग प्रज्ञा साधना (ध्यान शिविर) आयोजना हुने भएको छ।

ओशोधारा संघ नेपाल, ध्यान केन्द्र पोखराको आयोजनामा माघ १६ गतेदेखि १९ गतेसम्म पोखराको विजयपुरस्थित हाइड्रो पावर मुहान क्षेत्रको खेलमैदानमा शिविर सञ्चालन गरिनेछ।

मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले शिविरको विशेषताबारे जानकारी गराएको हो।शिविर विहान ७ बजेदेखि राति ८:३० बजेसम्म सञ्चालन हुनेछ। ओशो अखण्डका अनुसार शिविरलाई दुई चरणमा विभाजन गरिएको छ।

पहिलो दुई दिन सहभागीहरूको दुःख र पीडालाई गहिरो रूपमा बुझ्ने, त्यसको कारण पहिचान गर्ने र निवारणका उपाय सिकाउने ध्यान विधिहरू समावेश गरिनेछ। पछिल्लो दुई दिन मूलाधार चक्र सम्बन्धी ज्ञान दिइनेछ, जसले योग अभ्यासको महत्व र यसको सही प्रयोगबारे बुझ्न सहयोग गर्नेछ।

ओशो अखण्डले वर्तमान समयमा ९८ प्रतिशत रोगहरू मानसिक कारणले हुने बताए। “चिन्ता र तनाव नै विभिन्न रोगहरूको जड हो, जसको उपचार ध्यानबाट मात्र सम्भव छ,” उनले भने। “मेडिटेसन नै वास्तविक मेडिसिन हो।” डिप्रेसन, एन्जाइटी र अन्य मानसिक समस्याको समाधान ध्यानबाट गर्न सकिने भएकाले उनले सबैलाई ध्यानलाई जीवनशैलीको अंग बनाउन आग्रह गरे।

शिविरको अन्तिम दिन दीक्षा प्रदान गरिनेछ, जसले साधकहरूलाई ध्यानको गहिरो अनुभव दिन सहयोग गर्नेछ।ध्यान तथा योग साधनाका माध्यमबाट मानसिक स्वास्थ्य सुधार गर्न चाहने जो कोहीका लागि यो शिविर लाभदायक हुने आयोजकले बताएका छन्।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्