
तारा पाैडेल/पोखरा । कास्की जिल्लामा २६ हजार भन्दा बढि किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्दको एच.पि.भी. खोप दिईदैछ । प्रदेश जनस्वास्थ्य कार्यालय कास्कीका फोकल पर्सल नरसिंह सारुले यहि २२ गते मंगलबारदेखि शुरु हुने एच.पि.भी. खोप अभियानमा जिल्लाका २६ हजार २ सय ९६ किशोरीहरुलाई एच.पि.भी. खोप दिईने लक्ष्य रहेको जानकारी दिए ।
फागुन ६ गतेसम्म देशैभर सञ्चालन हुने यस खोप अभियानमा कक्षा ६ देखी १० सम्मका सबै छात्राहरु र विद्यालय नजाने १० देखी १४ वर्षसम्मका किशोरीहरुलाई लक्षित गरि कास्की जिल्लाका ४०० भन्दा बढी विद्यालयहरु (सरकारी, सामुदायिक, नीजि, संस्थागत लगायत)मा खोप केन्द्र रहनेछन् ।
नेपालमा हरेक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने तथ्यांक छ । एच.पि.भी. खोप लगाएमा यो रोगबाट शत प्रतिशत सुरक्षित हुन सकिन्छ र यो खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुन्छ ।
त्यसैले, यस एच.पि.भी.खोप अभियानमा १० देखि १४ वर्ष उमेर सम्मका किशोरीहरूलाई एच.पि.भी. खोप लगाउने उद्देश्य लिइएको छ । यो उमेर समूहका अधिकांश किशोरीहरू विद्यालयमा अध्ययन गर्ने भएकोले विद्यालयमा नै गएर कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने छात्राहरूलाई एच.पि.भी.खोप लगाईंदैछ । साथै विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष उमेरसम्मका किशोरीहरूलाई पनि स्वास्थ्य संस्था र बाह्य खोप केन्द्रबाट यो खोप सेवा दिइनेछ ।
यसरी दिईने खोप पोखरा महानगरपालिकामा माघ २२ गतेदेखि फागुन ६ गतेसम्म नै सञ्चालन हुनेछ भने अन्नपूर्ण गाउँपालिकामा माघ २२ देखि २७ गतेसम्म, रुपा गाउँपालिकामा माघ २२ देखि २५ गतेसम्म, मादी गाउउँपालिकामा माघ २९ गतेदेखि फागुन १ गतेसम्म र माछापुच्छ्रे गाउँपालिकामा फागुन १ र २ गते सञ्चालन हुनेछ ।
संसारका १४५ देशहरूमा प्रयोग हुँदै आएको यो खोप विश्व स्वास्थ्य संगठनबाट प्रमाणित गुणस्तरयुक्त खोप हो । यो खोपले नेपालमा प्रयोग गर्नको लागि नेपालको औषधी व्यवस्था विभागबाट अनुमति पाइसकेको छ । त्यसैले, तोकिएका कक्षाका छात्राहरू र विद्यालय नजाने उक्त उमेर समूहका किशोरीहरू सबैले एच.पि.भी.खोप निर्धक्क भएर लगाउन सरोकारवालाहरु सबैलाई प्रदेश जनस्वास्थ्य कार्यालय कास्कीका फोकल पर्सल सारुले सुझाएका छन् ।
एच पी भी खोप अभियानमा धेरै भन्दा धेरै लक्षित वर्गलाई खोपको फाइदा बारे बुझाउन स्वास्थ्यकर्मी, जनप्रतिनिधि र नागरिक अगुवाहरूलाई उनको आग्रह छ ।
उनका अनुसार खोप लगाईसकेपछि एकादुईलार्ई खोप लगाएको ठाउँमा दुख्ने, रातो हुने, टाउको दुख्ने, कमजोर महसुस हुने लगायतका सामान्य असरहरु देखिन सक्छन् । यो सामान्य लक्षण भएकोले नआत्तिन र नडराउन उनको सल्लाहा छ । यदि कसैमा ठुलो समस्या हुन गएमा पनि त्यसका लागि स्वास्थ्यकर्मीको टिम तयारी अवस्थामा राखिएको उनको भनाई छ ।
नेपाल सरकारले यो वर्ष देखि एच.पि.भी.खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरेको छ । त्यसैले आगामी वर्ष देखि कक्षा ६ का छात्राहरू र १० वर्षका किशोरीहरूलाई हरेक वर्ष एच.पि.भी.खोप दिइनेछ ।
पाठेघरको मुखको क्यान्सरको सुरूवाती अवस्थामा, विशेष गरी एच.पि.भी. संक्रमण हुँदा, प्रायः कुनै लक्षण र चिन्ह देखिदैनन् । तर, क्यान्सरको प्रगति भएमा यौन सम्पर्कपछि योनीबाट रगत बग्ने, तल्लो पेट दुख्ने, गन्हाउने पानी बग्ने, तथा योनीबाट अनियमित रूपमा वा धेरै रगत बग्ने जस्ता लक्षण देखिन सक्छन्।
साथै, यस्तो अवस्थामा रक्तअल्पता हुने र शरीर कमजोर महसुस हुने जस्ता समस्या पनि देखा पर्न सक्छ । यी लक्षणहरू देखिएमा तत्काल स्वास्थ्य परामर्श लिन आवश्यक हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।