
पोखरा । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी प्रदेशले १२औं राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पूजाको अवसर पारेर स्याङ्जाको आँधीखोला–५ स्थित प्रधुम्न पनेरु माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा महासंघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद पोखरेल, आँधीखोला गाउँपालिका प्रमुख विश्व पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमनारायण देवकोटा, प्रधानाध्यापक दीप्तिनारायण शर्मा लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई पाठ्यपुस्तक, कापी, कलम, खेलकुद सामग्री, बालकथा तथा अन्य शैक्षिक सामग्री वितरण गरियो।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका प्रमुख पौडेलले महासंघ गण्डकी प्रदेशले सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेकोमा खुसी व्यक्त गरे। उनले स्टेसनरी व्यवसायीहरूले समाजमा ज्ञान बाँड्ने सेवामुखी कार्य गरिरहेको उल्लेख गर्दै विद्यार्थीहरूको पठन संस्कृतिको विकासका लागि यो योगदान महत्वपूर्ण हुने बताए।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष पोखरेलले आफूले अध्ययन गरेको विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गर्न पाउँदा गर्व महसुस भएको बताए। उनले सामुदायिक विद्यालयहरूको गुणस्तरीय शिक्षाका लागि आवश्यक सुधार गर्दै विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। साथै, भविष्यमा पनि शैक्षिक सुधारका कार्यक्रमहरूमा महासंघको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता महासंघ गण्डकी प्रदेशका अध्यक्ष पोखरेलले गरेका थिए भने प्रथम उपाध्यक्ष रामचन्द्र नेपालले स्वागत मन्तव्य व्यक्त गरे। कार्यक्रम सञ्चालन महासंघका सह-सचिव सुरेन्द्र बास्तोलाले गरेका थिए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता थापा, वडाध्यक्ष कृष्ण पनेरु, शिक्षा प्रमुख लक्ष्मी सापकोटा, महासंघ गण्डकी प्रदेशका सदस्यहरू दुर्गादत्त आचार्य, टंक ढकाल, रमेश पौडेल, महासंघ कास्कीका निवर्तमान अध्यक्ष कविन्द्र प्रसाद पोखरेल, महासंघ कास्कीका कोषाध्यक्ष प्रकाश प्रसाद पोखरेल लगायत विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
महासंघ गण्डकी प्रदेशका सह-सचिव बास्तोलाले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराए।