
पोखरा । पोखराको लेकसाइडस्थित ३ नं. स्ट्रिटमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
शनिबार राति करिब १२:५८ बजे लेकसाइडबाट शहीदचोकतर्फ जाँदै गरेको ग १३ प ६७१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउको सोलार पोलमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परेका दुईजनालाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (GMC) लगिएको थियो। तर, गम्भीर घाइते बनेका मोटरसाइकल चालक सफल रानाभाट (२१, पोखरा-२४, कास्कीकोट) र पछाडि सवार सुजल अधिकारी (२१, पोखरा-८, सिमलचौर) लाई चिकित्सकले राति क्रमशः २:१८ र २:१४ बजे मृत घोषित गरेका हुन्।
घटनास्थलमा वडा प्रहरी कार्यालय बैदामको टोली पुगेको थियो भने दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।