
पोखरा । नेपालका प्रथम शहीद क्या. लखन थापामगरको १४८ औं स्मृति दिवस नेपालको पर्यटकीय राजधानी पोखरामा पनि मनाइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्को आयोजना र नेपाल मगर संघ, जिल्ला समन्वय समिति, कास्कीको व्यवस्थापनमा प्रथम शहीद क्या. लखन थापामगरको १४८ औं स्मृति दिवस तथा सच्चा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।
पोखरा–९, लखनचोकस्थित प्रथम शहीद लखन थापामगरको शालिकमा माल्यार्पणपछि सो कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले प्रथम शहीद लखन थापामगरको शहादत भएको दिन नेपालमा लोकतान्त्रिक आन्दोलन सुरु भएको दिन रहेको बताउनुभयो ।
प्रथम शहीद लखन थापामगरले निरंकुश राणा शासनका विरुद्ध संगठित जनविद्रोह गरी लोकतान्त्रिक आन्दोलनको सुरुवात गरेको भन्दै उपसभामुख थापाले प्रथम शहीद लखन थापालगायतका शहीदहरूको शहादत राष्ट्र र जनताका लागि अमूल्य रहेको उल्लेख गर्नुभयो ।
शहीद कुनै जाति र समुदाय विशेषको नहुने भन्दै उहाँले राष्ट्रिय रुपमा नै प्रथम शहीदको स्मृति दिवस मनाइनुपर्नेमा जोड दिनुभयो । शहीदका सपना पूरा गर्न सके मात्र शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउँदै उपसभामुख थापाले शहीदका सपना पूरा गर्न राज्यस्तर र जनस्तर दुवै तर्फबाट आ–आफ्नो भूमिका निर्वाह गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै, नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालासिंह काउछामगरले प्रथम शहीद लखन थापामगर कुनै जाति विशेषमात्रको नभएको भन्दै राज्यले प्रथम शहीदको स्मृति दिवसमा सार्वजनिक बिदा दिएर भव्य रुपमा मनाउनुपर्ने माग गर्नुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्का अध्यक्ष धर्म गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष विजेन्द्र चौधरी, सह–सचिव शिव थापामगरले पनि प्रथम शहीदको योगदान र बलिदानका बारेमा चर्चा गर्नुभएको थियो ।
यसअघि, नेपाल मगर संघ, जिल्ला समन्वय समिति, कास्कीको भवन, पोखरा–१०, रामघाटदेखि ¥याली सुरु भइ पोखरा–९, लखनचोकमा पुगी कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा सहभागीहरूले प्रथम शहीद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने, प्रथम शहीदको स्मृति दिवसमा सार्वजनिक बिदा घोषणा गर्नुपर्नेलगायतका माग गरेका थिए ।
सो अवसरमा नेपाल मगर संघ, गण्डकी प्रदेश, कास्की जिल्ला समन्वय समिति अन्तर्गतका विभिन्न इकाई समितिहरू, भ्रातृसंगठनहरू, महासंघआबद्ध विभिन्न जातीय घटक संगठनलगायतको सहभागिता रहेको थियो ।