
पोखरा । कास्की प्रहरीले हातहतियार तथा लागू औषध सम्बन्धी अपराधमा संलग्न एक वृद्धलाई पक्राउ गरेको छ। माछापुच्छ्रे गाउँपालिका–७ निवासी ७२ वर्षीय आईतसिंह गुरुङलाई एक नाले भरुवा बन्दुक र ठूलो मात्रामा गाँजासहित पक्राउ गरिएको हो।
वडा प्रहरी कार्यालय बगर, कास्कीबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा गुरुङको घरमा खानतलासी गर्दा उनको सुत्ने कोठामा अवैध रूपमा लुकाइ राखेको एक नाले भरुवा बन्दुक, सो बन्दुकमा प्रयोग हुने जस्तो देखिने ३५० ग्राम कालो पदार्थ (संभावित बारुद) र १ किलो ५०० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
गुरुङ वन्यजन्तुको अवैध शिकार गर्दै आएको र गाँजाको कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो। बरामद प्रमाणहरूका आधारमा उनलाई हातहतियार तथा खरखजना ऐन र लागू औषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत, कास्कीबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले गैरकानुनी रूपमा हातहतियार राख्ने, वन्यजन्तुको अवैध शिकार गर्ने र लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई निगरानी बढाएको जनाएको छ। स्थानीय समुदायलाई यस्ता अवैध गतिविधि नियन्त्रण गर्न सचेत रहन समेत आग्रह गरिएको छ।