कास्कीमा वन डढेलो नियन्त्रणका लागि पूर्वतयारीको छलफल

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । कास्की जिल्लामा वन डढेलो नियन्त्रण र रोकथामका लागि पूर्वतयारीको छलफल भएको छ । प्रत्येक वर्ष सुख्खा याममा हुने गरेकोे डढेलो न्यूनीकरण तथा रोकथामका लागि डढेलो लाग्ने समयभन्दा पहिला नै जिल्लामा पूर्वतयारीको छलफल गरिएको हो ।

सोमवार जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षमा भएको पूर्वतयारी छलफलमा जिल्ला स्तरमा डिभिजन वन कार्यालयको नेतृत्वमा सुरक्षा निकाय र सम्वन्धित कार्यालय लगायतको क्विक रेस्पोन्स टिम (क्यूआरटि) गठन गर्ने, सवडिभिजन स्तरमा सवडिभिजन कार्यालय प्रमुखको संयोजकत्वमा स्थानीय प्रहरी प्रशासन, सामुदाियक वन उपभोक्ता समूह, स्थानिय क्लव, सामुदायिक वन महासंघलाई समेटेर क्यूआरटि गठन गर्ने निर्णय भएको छ ।


यस्तै डिभिजन वन कार्यालय कास्कीमा विनियोजित भएको वन डढेलो नियन्त्रणसम्वन्धी रकमलाई कसरी प्रभावकारी हुने गरी खर्च गर्ने भन्ने विषयमा कार्ययोजना बनाई कार्ययोजनामाथि छलफल समेत भएको छ ।

वन डढेलो नियन्त्रण सबैको साझा विषय र सरोकारको विषय भएको हुनाले सबै कार्यालयहरुले आफूसँग उपलव्ध भएको वन डढेलो नियन्त्रणमा प्रयोग गर्न सकिने स्रोत शक्ति र साधनहरु तयारी अवस्थामा राखि एकआपसमा सहकार्य गरेर वन डढेलो नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने छलफलको निश्कर्ष छ ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले वन क्षेत्रलाई जोगाउन सबै पक्षको सहकार्य आवश्यक रहेको भन्दै आगलागी हुन नदिन उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।

उनले वन डढेलो नियन्त्रण र रोकथामका लागि स्थानीय पालिकाहरुले प्राथमिकताका साथ वजेट तथा कार्यक्रमहरु तय गर्नुपर्ने, स्थानिय समूहहरु सचेत हुनुपर्ने, प्रोटेवल हेण्ड पम्प र अग्नि नियन्त्रक उपकरणहरु तयारी अवस्थामा राख्नुपर्ने साथै डढेलो नियन्त्रणमा खटिनेहरुलाई खाजाको प्रवन्ध गर्नुपर्ने लगायतका विषयहरुमा सबैबाट सहयोग हुनुपर्ने बताए ।

छलफलमा डिभिजन वन कार्यालयको तर्फबाट डिभिजनल वन अधिकृत कोमलराज काफ्लेले डिभिजन वन कार्यालय कास्कीमा वन डढेलो नियन्त्रण र रोकथामका लागि विनियोजित वजेटअनुसार बनाईएको कार्ययोजना प्रस्तुत गरेका थिए । उनले हरेक व्यक्ति तथा समूह सजग हुने हो भने वन डढेलो नियन्त्रण र रोकथाम गर्न सकिने बताए ।

छलफलका सहभागिहरुले स्थानीय समूह सचेत नभएसम्म वन डढेलो नियन्त्रण प्रभावकारी हुदैन भन्ने कुरामा एकमत राखेका थिए । तसर्थ वन डढेलो नियन्त्रण लागि स्थानीय समूहलाई सचेत बनाउनुपर्नेमा सहभागिहरुले जोड दिएको वन डढेलो नियन्त्रणका फोकल पर्सल राजेन्द्र प्रसाद शर्माले जानकारी दिए ।

छलफलमा डिभिजन वन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी, नेपाली सेना, फेकोफन, पत्रकार, सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

जिल्लामा सकभर वन डढेलो नहोस्, यदाकदा वनमा डढेलो लागिहालेमा वन डढेलो नियन्त्रणका फोकल पर्सल राजेन्द्र प्रसाद शर्मा ९८५६०४३५२५ मा फोन गरेर जानकारी दिन सकिन्छ । र, डढेलो नियन्त्रणका लागि तत्काल टोली परिचालन हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्