कास्कीमा वर्कसप र रिकण्डिसन व्यवसायसँग सचेतनामूलक छलफल कार्यक्रम सम्पन्न

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । कास्की जिल्ला प्रहरी कार्यालयको आयोजनामा र कास्की मोटरसाइकल वर्कसप एसोसिएसन पोखराको सहकार्यमा “वर्कसप तथा रिकण्डिसन व्यवसाय संचालक र कर्मचारीहरूसँग छलफल, अन्तरक्रिया र सचेतनामूलक स्टिकर टाँस कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख आतिथ्य प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले प्रदान गर्नुभएको थियो भने पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। यस अवसरमा वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौला, कास्की मोटरसाइकल वर्कसप एसोसिएसन पोखराका अध्यक्ष अर्जुन सुबेदी र विभिन्न वर्कसप संचालक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा विना इजाजत मोटरसाइकललाई मोडिफाइड गरी चर्को आवाजमा ध्वनी प्रदूषण नगर्न, रिकण्डिसन मोटरसाइकलहरूको किनबेच गर्दा यातायात कार्यालयबाट नामसरी गरेर मात्र किनबेच गर्नुपर्ने लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको थियो। साथै, कास्की जिल्लालाई ध्वनी प्रदूषण मुक्त बनाउन सबैको सहयोगको आवश्‍यकता रहेको कुरा पनि जोडदार रूपमा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा  वर्कसप र रिकण्डिसन हाउसहरूमा सचेतनामूलक स्टिकरहरू टाँस गरी ध्वनी प्रदूषण नियन्त्रणका विषयमा जनचेतना अभिवृद्धि गर्ने कार्य गरिएको छ। यस कार्यक्रमले कास्की जिल्लामा मोटरसाइकल ध्वनी प्रदूषण नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्