
पोखरा । प्रेस क्लब गण्डकीले पत्रकार कृष्णमणि बराललाइ प्रेस क्लब पत्रकारिता पुरस्कार–२०८१ अर्पण गरेको छ । शनिबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उनलाई नगद रु. ५० हजार, सम्मानपत्र र दोसल्लासहित सम्मान गरे ।
प्रेस क्लब गण्डकीले पत्रकारितामार्फत समाजको बृहत्तर हितमा पु¥याएको योगदानको उच्च कदर गर्दै उनलाई पुरस्कार दिने निर्णय गरेको हो । क्लबले अर्पण गरेको यो पुरस्कार प्राप्त गर्ने बराल पहिलो पत्रकार हुन् ।
कार्यक्रममा बोल्दै सभामुख घिमिरेले पत्रकारिता समाज परिवर्तनको महत्वपूर्ण संवाहक रहेको उल्लेख गरे । सत्य, तथ्य र निष्पक्ष पत्रकारितामार्फत जनताको पक्षमा आवाज उठाउने पत्रकारहरूको योगदान सधैं स्मरणीय रहने उनले बताए। “पत्रकारिता लोकतन्त्रको चौथो अंग हो। सत्य सूचना प्रवाह गर्दै समाजलाई सही दिशामा लैजान पत्रकारहरूको भूमिका अतुलनीय छ,“ सभामुख घिमिरेले भने। चौथो अंग मानिएको पत्रकारिताले सहि कुरा जनताको वीचमा लैजाने र समाजको चेतना विकास गर्दै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई ऐनाको रुपमा जनताको अगाडी लैजानुपर्ने बताए ।
सभामुख घिमिरेले अभिव्यक्ति स्वतन्त्रता कुन्ठित हुने गरी सङ्घीय संसदले कुनै कानुन नबनाउने स्पष्ट पारे । उनले सबैले लडेर ल्याएको लोकतन्त्र विरोधी कानुन बनाउन सम्भव नभएको बताए । सामाजिक सञ्जालमा सही भन्दा पनि गलत कुराहरू बढी प्रचार भइरहेको उनको भनाइ छ । उनले गलत कुराहरूको प्रचार रोक्नका लागि कानुन आवश्यक भएको बताए ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलका नेता तथा पूर्वमन्त्री खगराज अधिकारीले लोकतन्त्र विरोधी गतिविधि बढीरहेकोले त्यसप्रति सचेत हुनुपर्ने बताए ।
कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दामोदार पौडेल वैरागीले सार्वजिक सञ्जाल प्रयोग, तथा नियगमन गर्ने सम्बन्धमा बनेको विधेयक अभिव्यक्ति स्वतन्त्रता विरोधी नभएको जिकिर गरे ।
पुरस्कृत पत्रकार कृष्णमणि बरालले पुरस्कारका लागि योग्य ठानेकोमा खुशी ब्यक्त गर्दै प्रेस क्लब गण्डकीले व्यवसायिक पत्रकारिताको पक्षमा काम गर्न सुझाव दिए ।
सम्मानित व्यक्तित्व बरालले पत्रकारितामा साढे दुई दशकभन्दा बढी समय व्यतित गरिसकेका छन् । सन् २००१ मा समाधान दैनिकबाट संवाददाताका रूपमा यात्रा सुरु गरेका उनी हाल अन्नपूर्ण पोस्ट दैनिकमा संवाददाता तथा फोटो पत्रकारका रूपमा कार्यरत छन् ।
पछिल्लो चार वर्षयता बीबीसी नेपाली सेवामा पनि रिपोर्टिङ गर्दै आएका छन्। विशेषगरी वातावरण संरक्षण, वन्यजन्तु, खेलकुद तथा सामाजिक विषयमा कलम चलाउने पत्रकारका रूपमा परिचित बराल फोटो पत्रकारितामा पनि अब्बल मानिन्छन्। उनका तस्बिरहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा चर्चित भएका छन् ।
पत्रकारिता र फोटो पत्रकारितामा उत्कृष्ट योगदान पु¥याएका बरालले डब्लुडब्लुएफ मिडिया कन्जरभेसन अवार्ड–२०१२, द लाइफ अफ फुड–फोटोग्राफी अवार्ड–२०१०, राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०११, वातावरण पत्रकारिता अवार्ड–२०१२, एक्याप संरक्षण अवार्ड–२०१२, सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०१५, गिद्ध संरक्षण अवार्ड–२०१४, हिमदूत फोटो पत्रकारिता अवार्ड–२०१२, प्रकृतिका साथीहरूको राष्ट्रिय संरक्षण अवार्ड–२०१७, जैविक विविधता संरक्षण अवार्ड–२०२३ लगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन्। प्रेस क्लब पत्रकारिता पुरस्कार–२०८१ उनको लामो समयदेखिको निष्ठा, परिश्रम र योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो।
प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तिको बारेमा जानकारी गराएका थिए भने सचिव गौरब त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।