बीमा रकमका लागि नियोजित रूपमा आफ्नै पसलमा आगो लगाउने सञ्चालक पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा महानगरपालिका–८ न्यूरोडस्थित शर्मा आईटी हबमा भएको आगलागीमा संलग्न रहेको आशङ्कामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार २०८१ फागुन १६ गते साँझ ७:०५ बजे शर्मा आईटी हबमा आगलागी भएको सूचना पाएपछि प्रहरी र दमकल टोली खटिएको थियो। आगो करिब ७:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

प्रहरीका अनुसार पसलका सञ्चालक पर्साको जगरनाथपुरका रमेश शर्मा लोहारले १ करोड बराबरको बीमा गराएको पाइएको छ । घटनापछि उनले शिखर इन्स्योरेन्स कम्पनीमा क्षतिपूर्ति दाबी गरेका थिए ।

अनुसन्धानका क्रममा पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेका र आगलागीको कारणबारे संदेहजनक विवरण प्रस्तुत गरिएको पाइएकाले अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति, संकलित प्रमाणहरू तथा अन्य तथ्यहरूको आधारमा बीमा रकम दाबी गर्न नियोजित रूपमा आगलागी गराइएको आशङ्कामा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिमाथि ‘आपराधिक प्रवेश तथा आपराधिक उपद्रव’ सम्बन्धी कसुरमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थपिएको प्रहरीले जनाएको छ ।

गत साउन १६ गते पोखराको लेकसाइड, नारेश्वरचोकस्थित मुक्तिनाथ सपिङ सेन्टरमा भएको आगोलागी घटनामा विद्युत् सर्ट भएर आगलागी भएको भनिएपनि बीमाको लोभले पसल सञ्चालक आफैले लगाएको खुलेको थियो ।

सो अभियोगमा पसल संचालक स्याङ्जा आँधीखोला वडा नं. ४ का ३६ वर्षीय सुजन गहतरात र उक्साउने ४३ वर्षीय पवन नेपाल पक्राउ परेका थिए। पोखरा १७, ड्यामसाइडका गहतराज पसल संचालक हुन् । उनले डा. थानेश्वर पहारीको घरमा पवित्रा अधिकारीको नाममा केही वर्षदेखि उक्त पसल संचालन गर्दै आएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्