जङ्गल, पर्यावरण र जीवन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

लेखक: दुर्गादत्त भुसाल  (स्याङ्जा-भिर्कोटे)
जङ्गल भन्ने बित्तिकै बाक्ला बिरुवाहरू ठाउँ,, आफू वरिपरि पहाडी, वनस्पति आहार, व्यवहारलाई प्रभाव पार्ने खालका वरिपरिका वस्तु, जीवजन्तु, हावापानी, प्राकृतिक पहाड मैदान, खोल्सा खोल्सी, भौतिक उपस्थित हिमाल, नदीनाला, समुद्र आदि पर्यावरण हुन् भने, जीवन भनेको हरेक प्राणीहरू जन्मदेखि मृत्युसम्मको गरिने अवधि, जसले प्राणतत्व बाँच्न सक्ने शक्ति, गुजरा निर्वाह बचाउन सक्ने शक्ति, बाल्यकाल सक्रिय जीवनकाल र सबै प्राणी काल नै जीवन हो।

यस धर्तीका सम्पूर्ण प्राणीहरू को जीवनको अस्तित्व सँगै गाँसिएकाले जङ्गल, पर्यावरण, र जीवन एक अर्काका सम्बन्ध बनेका छन्। जङ्गल संरक्षणबाट पर्यावरण र जीवनको संरक्षण हुन्छ भने, जसको विनाश भयो भने पर्यावरणीय असन्तुलन पैदा हुन गई सारा प्राणीहरूको जीवन नै विनाशतिर जान सक्दछ। त्यसैले जङ्गल पर्यावरणलाई सन्तुलित राख्न, स्वच्छ हावा पानी प्रदान गर्न, पानीको चक्रलाई नियमित गर्न जैविक विविधताको संरक्षण गर्न महत्त्वपूर्ण मानिन्छ।

जङ्गलको सबैभन्दा सानो इकाइ एउटा रुख, जसलाई हुर्काउन कयौँ वर्ष पार  गर्नुपर्छ तर, भएका रुखहरूलाई काट्न, मास्न, हाते तथा आधुनिक औजारहरू प्रयोग गरी एक दुई घण्टामै सबै सिध्याउन सकिन्छ। वनजङ्गलको माटो तयार गर्न वर्षौं लाग्दछ भने, त्यही माटो पानी परेको बेला केही समयमै बगेर खेतीपाती योग्य जमिन लाई मरुभूमि वा उजाड बनाइदिन्छ। त्यसैले अनावश्यक स्वार्थको रुपमा जंगल फाडनी गर्दा मानव, चराचुरुङ्गी, किरा फट्याङ्ग्रा लगायत जंगली जन्तुहरुलाई अपाङ्ग बनाइरहेको हुन्छ। वातावरण असन्तुलन भई अनेक खालको रोगव्याधिहरु आउनु, स्वयंलाई नै अन्धाकारतिर धकिलिदिएको हुन्छ। त्यसैले वन बुटा फाँड गर्नु भनेको, आफ्नो खाल्टो आफै खन्नु हो, आफ्नो र सारा प्राणीहरूको जीवन आफै निम्त्याउनु हो।

वन जङ्गल विनाशले पर्यावरणलाई असर गरेपछि, जसले गर्दा जीवन नै संकटमा पर्दछ। प्रकृतिको हरियालीलाई मास्नु हुँदैन र कसैले अधिकार पनि लिनु हुँदैन, तर अति आवश्यक भए एउटा पुरानो रुख काटिन्छ भने, दुईवटा नयाँ रूप रोप्नु पर्दछ। नयाँ वोटहरू हुर्काउन सक्नुपर्छ। जथा-भावी फाडनाले  वन्यजन्तु, थलचर, उभयचर विस्थापित हुन सक्दछन्।

हरियाली पाखा पखेरा, डाँडाकाँडाहरू निवस्त्र र उदाङ्गो बन्न सक्दछन्। अझ गहिरिएर हेर्ने हो भने, हरेक देशमा जंगलमा आगो लगाई एकातिर वनजङ्गल विनाश, अर्कोतिर सारा प्राणीहरूको हत्याले मानवजाति लाई सराप दिइरहेका छन् , अर्को तर्फ वनजङ्गल फँडानीले वनजङ्गलमा बासको स्थान बनाई बसेका विभिन्न खालका मृग, स्याल, खरायो, दुम्सी, अर्ना भैँसी, बाघ, भालु आदि, अर्को व्यवस्थापनको खोजीमा भौतिरिनु बाध्यबाहेक के हुन्छ र? यस्तो लथालिङ्ग, परिवारहरूको विचल्ली देख्दा चेतनशील प्राणी मानव बाँचेको के सार हुन्छ र? वनजङ्गल विनाशको कारणले मानव जीवन झन् झन् असुरक्षित बन्दै गइरहेको छ। यति मात्र कहाँ हो र, पर्यावरणमा आएको रासबाट सम्पूर्ण प्राणीहरूको जीवन संकट र असुरक्षित बन्दै जानाले जङ्गल, पर्यावरण र जीवनका बीचको राम्रो सम्बन्धलाई चिन्तन गर्नु अहिलेको आवश्यकता हो।

यस पृथ्वीमा पर्यावरण सन्तुलन राख्नको लागि पृथ्वीको करिब ४५% भूमि जङ्गलले ढाकेको हुनुपर्छ भने विश्लेषकहरूले बताइरहेका छन, तर यसको उल्टो वनजङ्गलमा आगो लगाउनु, व्यक्ति स्वार्थमा जङ्गल फाडनी गर्नु, जङ्गलका छेउछाउमा बिरुवा रोप्नु सट्टा उजाड बनाई घर बनाउनुको कारण , संसारमा घटेर अनुमानित ३०%मा झरेको होला जस्तो लाग्दछ। जसका कारण सारा जीव, जन्तुहरू बाँच्नको लागि मानव र जनावरको द्वन्द हुनु स्वाभाविकै हो। उदाहरणको लागि नेपाल, भारत एसिया लगायत अन्य देशमा बाँदर आतंक, दुम्सी आतंक, हात्ती मृग, बदेल, अर्ना भैँसी आतंक, महामारी रोगव्याधि आतंक, भूक्षय आतंक आदिबाहेक के हुन्छ? अझ नेपाललाई नियालेर हेर्ने हो भने पर्यावरण सन्तुलनका लागि चाहिने मात्रा घटेर १५% भन्दा तल झरेको तथ्याङ्कले बताउँदछ। पहिला घोषित गरेको ‘हरियो वन- नेपालको धन’ उखाने टुक्कामा परिणत हुन थालेको छ।

नेपालको वनजङ्गलको विनाशका कारण, काठ, दाउरा, घाँस आदिको आन्तरिक रूपमा पूरा हुन सकेको छैन भने, यसको विनाशको कारणले गर्दा वर्षयाममा बाढी पहिरो र जमिनको नाङ्गा डाँडाहरू बढ्दै गएको छ। जसको कारण सजाय बापत खोलानाला नदीले माटो ढुंगा र बालुवा थुपार्दै गइरहेको छ। वनजङ्गल फाँडनी गर्दा पानीका मुहानहरू सुक्दै जाने, नदीनालामा स्रोत घट्दै जाने, कार्बन दाइ अक्साइड अव शोषण, पृथ्वीलाई तापमानमा सन्तुलन नगर्ने जस्ता समस्याहरू देखिएका छन्। यी सम्पूर्ण नकारात्मक पक्षहरूका समस्याहरू जङ्गल फाड्नु नै पर्यावरण असन्तुलनले सम्पूर्ण प्राणी जगतको जीवन नै असुरक्षित बन्दै गइरहेको छ ।

जङ्गल विनाशको कारण यो पनि हो कि, पृथ्वीमा जनसङ्ख्या बढ्दै जानु, बस्ती विकास बढ्नु, इन्धन समस्याको आपूर्ति, ग्रामीण भेगमा घाँस दाउरा वनको सहारा लिनुपर्ने, छिट्टै पैसा कमाउन अवैध काठ तस्कर गर्नु र राजनैतिक शक्तिका ओहोदामा बस्ने, भुरी टाकुरे दलका व्यक्तिहरूको लापरवाही, आधारभूत बिना भौतिक संरचना बनाउनु, स्वार्थको जग्गा पलौटिङ गर्नु, व्यक्तिहरूको लापरवाही नै प्रमुख कारण रहेको छ,जसको कारणले गर्दा नेपालको प्राकृतिक हरियाली वनजङ्गल वा वनस्पति मासिदै गइरहेको छ।

विभिन्न मुलुकमा राजनीति स्थायित्वले र जनचेतनाको प्रभावले गर्दा मरुभूमि जमिन हराबरा भएका छन् तर हाम्रो देश नेपालमा राजनीति स्वार्थको शक्तिको विचार हिनताको कारणले गर्दा नाङ्गा खुट्टा भएका नेताहरु विदेशीहरुले दिएको  अनुदान , वन संरक्षणको नाममा ठूला पाँचतारे होटलमा बसी  योजना गोष्ठी गरिरहेका हुन्छन्, तर गोष्ठी विदेशीको सहायताको डलर पचाउन नौटंकी  नाटक गरिरहेका हुन्छन्।

यस्ता खालको नौटंकी नाटकले समस्या समाधान हुँदैन। आम नागरिक सचेत, संघ संस्था र स्थानीय सरकारलाई सबल र सक्षम बनाई कानुनको कार्यान्वयन हुनेगरी पालना गराई -गराएमा मात्र वन जंगल संरक्षणले पूर्णता पाउला र मानव जीवनमा देखापरेका विभिन्न खालका समस्याहरु हट्न सक्दछ ।

वन जङ्गलले परावरणीय चक्रलाई नियमित राख्दछ। पानीको चक्र, तापक्रम नियन्त्रण, माटोको उर्वरा शक्ति, उत्पादन वृद्धि जस्ता प्रक्रियामा वनजङ्गलको प्रमुख भूमिका रहन्छ। जंगल नष्ट हुँदा माटो सुक्का माटोको अरण र जलवायु परिवर्तनको खतरा बन्दछ। यसको विकल्पको लागि सचेत नागरिकप्रति , परिवारप्रति तीनगुना वोट बिरुवा हुर्काउनु भन्नु नै वनजङ्गल संरक्षणको दायित्व हो।

निष्कर्ष
आम नागरिकहरूले प्रयोग गर्ने इन्धन वा ऊर्जाको वैकल्पिक उपाय खोजी गर्नु, जलविद्युत उत्पादन बढाउनु र अन्य ऊर्जा खोजी गरी आवश्यक पूर्ति गर्न सकेमा केही न्यूनीकरण देखिन्छ। नाङ्गा खुट्टा हिँडेर राज्यको नीति बनाउने महंगा होटलमा नबसी सम्बन्धित समाज घरमा बसी नीति नियम बनाई कार्यान्वयन हुनेगरी कानुन  बनाए मात्र, सारा वन जङ्गली  वन्यजन्तु न्यायको आस गर्ने थिए। अर्को तर्फ वनजङ्गल वन्यजन्तु बेगर हामी बाँच्न सक्दैन भन्ने चेतना फैलाई जनसङ्ख्याको आधारमा परिवार सङ्ख्याको तीन गुणा स्थान हेरी आवश्यक बिरुवा रोप्न लगाई वनजङ्गल संरक्षण गर्नुपर्दछ।

जङ्गल, पर्यावरण मासिदा जीवन माँसिन्छ। यी चिज नभए सारा प्राणीहरू रहन सक्दैनन्। नियन्त्रित वन विनाश रोक्ने, वृक्षरोपण बढी मात्रामा गर्ने, वातावरण मैत्री विकासका गतिविधि अपनाउने, पर्यावरण संरक्षणबारे जनचेतना जगाउने, अवैध सिकारी र वन्यजन्तु तस्कर गर्ने आदि ।

वनजङ्गल प्राकृतिक स्रोत मात्र होइन यो हरियो वन  देशको धन र मुटु हो। यसलाई जोगाउन सकिएन भने पृथ्वी संकटमा पर्दछ। त्यसैले यसको संरक्षणमा जनता र सरकार दुवै संवेदनशील भई अगाडि बढ्नुपर्दछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्