हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरी क्षेत्रमा लागूऔषध सेवन गरी झगडा गरिरहेको सूचनापछि पुगेको प्रहरी टोलीमाथि आक्रमण भएको छ। आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा एक युवक घाइते भएका छन् भने दुई जनालाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बेलुका करिब ९ बजे पदमपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
सोधपुछ गर्ने क्रममा प्रहरीमाथि एक्कासी बियरको बोतल, खुकुरी र बन्चरो प्रहार गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
आक्रमणबाट प्रहरी सहायक निरीक्षक तामाङका दुवै हातमा चोट लागेको छ। त्यसपछि आत्मरक्षाका लागि उनले साथमा रहेको पेस्तोलबाट एक राउन्ड गोली चलाएका थिए।
गोली लागेर हेटौंडा उपमहानगरपालिका–१२ हात्तिगौडा बस्ने करिब १९ वर्षीय सनिस तितुङ घाइते भएका छन्। उनको पेटको दाहिने भागमा गोली लागेको प्रहरीले जनाएको छ। घाइते तितुङलाई उपचारका लागि सीएमसी चुरेहिल अस्पताल, हेटौंडामा भर्ना गरिएको छ र उनको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।
यसैबीच, डीएसपी बोगटीको कमाण्डमा पुगेको थप प्रहरी टोलीले घटनामा संलग्न २४ वर्षीय सन्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिएको छ। दुवैलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका दुई जना तथा गोली लागेका तितुङ यसअघि लागूऔषध, ज्यान मार्ने उद्योग र चोरीजस्ता आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ।









