
पोखरा । आदर्श समाज दैनिक ३० औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम गरिएको छ ।
सोमबार आयोजित समारोहमा उपस्थित आदर्श समाज परिवारका सदस्यहरुले आपसमा नयाँ वर्ष–२०८२ को शुभकामना साटासाट गरे ।
सो अवसरमा वितरण विभागमा रही लामो समयदेखि कार्यरत् पोखरा–२६, लेखनाथ निवासी पूर्णबहादुर रानाभाटलाई सम्मान गरिएको छ । उनलाई पत्रिकाका प्रधान सम्पादक कृष्णप्रसाद बास्तोला, प्रबन्धक कृष्णप्रसाद बस्ताकोटी, व्यवस्थापक दुर्गादेवी बास्तोला, कार्यकारी सम्पादक विजय नेपालले सम्मान प्रदान गरेका हुन् ।
समारोहमा आदर्श समाज बहुमुखी प्रकाशन प्रालिका अध्यक्ष एवं प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले पत्रिका प्रकाशनमा धेरै चुनौतीहरु रहेको उल्लेख गर्दै संयमित भएर अघि बढ्नुपर्ने बताए । उनले पत्रिकालाई यहाँसम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण पाठक, ग्राहक, विज्ञापनदाता, स्तम्भकार तथा सम्पूर्ण शुभचिन्तकप्रति आभार व्यक्त गरे ।
प्रबन्धक कृष्णप्रसाद बस्ताकोटीले पत्रिकाको सुरुआतको संघर्षको चित्रण गर्दै यो पत्रिका पोखराको पर्यायवाची बनिसकेको उल्लेख गरे । उनले पत्रिकाको स्वतन्त्र छवि रहेको बताउँदै यसको चर्चा जताततै हुने गरेको जनाए ।
व्यवस्थापक दुर्गादेवी बास्तोलाले सबैको साथ र सहयोगले पत्रिका यहाँसम्म आइपुग्न सफल भएको बताइन् ।
कार्यकारी सम्पादक विजय नेपालले पत्रिकाले आफ्नो आदर्श र पत्रकारिताको सिद्धान्तलाई जहिले पनि आत्मसात गर्दै अघि बढेको बताए । उनले आगामी दिनमा पाठकसमक्ष पत्रिकालाई अझै सशक्त र गुणस्तरीय बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।
वितरण शाखा प्रमुख बलबहादुर राउतले नयाँ वर्ष तथा पत्रिकाको वार्षिकोत्सव अवसरमा शुभकामना व्यक्त गर्दै प्रगतिको कामना गरे ।
पत्रिकाको सम्पादन, मार्केटिङ, वितरण, छपाई तथा प्रशासन विभागका कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन प्रशिक्षार्थी पत्रकार दिनेश पौडेलले गरेका थिए ।
पोखराको पुरानो आदर्श समाज २०५३ वैशाख १ गतेबाट पाक्षिकरुपमा प्रकाशन सुरु भएको थियो । अर्को वर्षपछि साप्ताहिकमा रुपान्तरण भएकोमा २०५४ माघ श्रीपञ्चमीदेखि दैनिकरुपमा निरन्तर प्रकाशित हुँदै आएको छ । यो गण्डकी प्रदेशमै राष्ट्रिय (क) वर्गको एकमात्र दैनिक हो ।