
पोखरा । बालबालिकाको स्वास्थ्य संरक्षणका लागि नेपाल सरकारको राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि अभियान आजदेखि पोखरा महानगरपालिकासहित देशभर शुरू भएको छ। यो दुईदिने अभियानको उद्घाटन पोखरामा नगरप्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले संयुक्त रूपमा गर्नुभयो।
पोखरा महानगरले यो अभियानमार्फत करिब ३० हजार बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि वितरण गर्ने योजना बनाएको छ।
“बालबालिकाको स्वस्थ भविष्य हाम्रो प्राथमिकता हो,” नगरप्रमुख आचार्यले उद्घाटन समारोहमा भन्नुभयो। उपप्रमुख गुरुङले अभिभावकहरूलाई आफ्ना नानीहरूलाई यी औषधि खुवाउन प्रेरित गर्दै स्वास्थ्यप्रति सचेत रहन आह्वान गर्नुभयो।
स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलका अनुसार, महानगरका सबै स्वास्थ्य चौकी र तोकिएका केन्द्रहरूमा भिटामिन ए क्याप्सुल, जुकाको औषधि र बालभिटाको पर्याप्त व्यवस्था गरिएको छ। पोषण कार्यक्रमका संयोजक सत्यराज साखीले बताएअनुसार, ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र १ देखि ५ वर्षका बालबालिकालाई जुकाको औषधि खुवाइने छ।
यो अभियानमा ६ देखि २३ महिनाका बालबालिकाको पाखुरा नापेर पोषण अवस्था जाँच गरिनेछ र आवश्यकताअनुसार बालभिटा वितरण गरिनेछ। स्वास्थ्य महाशाखाको नेतृत्वमा सञ्चालित यो कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले घर-घर र स्वास्थ्य केन्द्रहरूमा सक्रियतापूर्वक सहभागिता जनाइरहेका छन्।