कक्षा १२ को परीक्षा वैशाख २१ देखि, तालिका भोलि सार्वजनिक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख २१ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि वैशाख ११ गतेबाट सुरु हुने भनिएको परीक्षा शिक्षकहरूको आन्दोलन र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनका कारण स्थगित भएको हो। बोर्डले परीक्षाको विस्तृत तालिका भने भोलि (वैशाख ९ गते) मात्रै सार्वजनिक गर्ने जनाएको छ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार, “वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सबै पक्षको सहमति अनुसार नयाँ मिति तय गरिएको हो।” बोर्डको मंगलबार बसेको आकस्मिक बैठकपछि यो निर्णय सार्वजनिक गरिएको हो।

यसअघि बोर्डले कर्मचारी परिचालनमार्फत तोकिएको मितिमै परीक्षा सञ्चालन गर्ने अडान लिएको थियो। तर, शिक्षक महासंघले परीक्षा बहिष्कारको घोषणा गरेपछि परिस्थितिमा नयाँ मोड आएको थियो। देशभर शिक्षकहरूको असन्तुष्टि, अभिभावक तथा विद्यार्थीहरूको चासो, र चौतर्फी आलोचनाका कारण बोर्डले अन्ततः आफ्नो निर्णय सच्याएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत परीक्षा स्थगन गर्न निर्देशन दिएको सूचना बाहिरिएपछि बोर्ड थप दबाबमा परेको थियो। त्यसपछि दिनभर छलफलमा व्यस्त रहेको बोर्डले अन्ततः नयाँ मिति सार्वजनिक गर्दै शैक्षिक वातावरण सहज बनाउने प्रयास गरेको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्