
पोखरा । पोखरामा भोलि (शनिबार) प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श कार्यक्रम हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा, म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा पोखरा क्लिक प्रा.लि.को आयोजनामा शनिबार पोखरामा उक्त कार्यक्रम हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
पोखरा नयाँबजारमा (बृहस्पति पेट्रोल पम्प ठीक अगाडि) सञ्चालनमा आउँदै रहेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राङ्गणमा सञ्चालन हुने उक्त शिविरको तयारी पूरा भएको प्रा.लि.ले जनाएको छ ।
नेपाल कै एकमात्र वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ (MBBs, Md, DM, FESIT) डा. धर्मागत भट्टराईबाट गण्डकी प्रदेशमै पहिलो पटक पोखरामा ल्याएर शिविर सञ्चालन गर्ने प्रबन्ध मिलाएको प्रालि.का अध्यक्ष दीननाथ बरालले बताए । पोखरासहित गण्डकी प्रदेशमा पनि बालबालिकामा देखिने समस्याको पहिचानमा असहजता डरलाग्दो रहेको उल्लेख गर्दै उनले त्यसलाई मध्यनजर गर्दै प्रतिरक्षा तथा बाल बाथरोगको पहिचानमा देखिएका समस्या, रोग पहिचान पछि निदानमा आइपर्ने बाधा व्यवधानका बारेमा यस क्षेत्रका जनसमुदायलाई सुसूचित गर्न सकियोस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको उल्लेख गरे ।
डा.भट्टराईको प्रत्यक्ष परामर्शमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त शिविर संचालन हुने भएको असफल गौतमले बताउनु भयो । शिविरमा आउने सेवाग्राहीलाई हस्पिटलको प्रयोगशालामा मधुमेह र पिसाब निःशुल्क परीक्षणको सुविधा समेत अस्पतालले उपलब्ध गराउने उहाँले जनाउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले बाल बाथ र इम्यूनोलोजीको समस्या अन्य उमेर समुहमा भन्दा गम्भिर रुपमा रहने भएकाले समयमै उपचार गर्न सुझाव दिनुभयो । उहाँले समयमै उक्त बिरामीहरुको उपचार नभए शारीरिक रुपमा अंग भंग हुनसक्ने बताउनु भयो । नेपालमा बाल बाथ र इम्यूनोलोजीका हाल २ हजार ३ सय बिरामी आफ्नो निगरानीमा रहेको उल्लेख गर्नुभयो ।
अस्पतालमा स्वास्थ्य परीक्षण गराउने सेवाग्राहीलाई अस्पतालबाट ५ देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको पश्चिमाञ्चल डाईग्नष्टिक एण्ड रिसर्च सेन्टरका प्रशासकीय अधिकृत देवेन्द्र धितालले बताउनु भयो ।
अस्पतालका अध्यक्ष शिव पोखरेलले पोखरामा विशिष्टिकृत अस्पतालको सेवा सुरु गर्न उक्त अस्पताल सञ्चालनमा ल्याउन लागेको बताउनु भयो । नेपालकै एकमात्र वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञसँग निःशुल्क सेवा लिन पाउने शिविरमा गण्डकी प्रदेश क्षेत्रका धेरै जना लाभान्वित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । १६ वर्ष भन्दा कम उमेरका धेरै भन्दा धेरै बालबालिकाको सहभागिताका लागि अध्यक्ष पोखरेलले आग्रह गर्नुभयो ।
समुदाय र सिङ्गो राज्यलाई सुसूचित गराउनुका अलावा संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सेवामूलक गतिविधिसमेत सञ्चालन गर्दै आएको प्रालिसँग सहकार्य गरेर कार्यक्रम गर्न पाउँदा खुसी लागेको हस्पिटलका अध्यक्ष पोखरलले जनाउनु भयो ।
उक्त कार्यक्रमलाई सफल दूध, रारा चाउचाउ, टाइगर गु्रप अफ् पोखरा र ग्लेज स्प्रिङ्ग वाटरको सहयोग रहेको छ । पोखरा क्लिक प्रा.लि.द्वारा सञ्चालित अनलाइन समाचार पोर्टल पोखरा क्लिक डट.कम. विकास, समृद्धि र सुशासनका पक्षमा पहरेदारी गर्दै सत्य, तथ्य एवम् निष्पक्ष समाचार सम्प्रेषणमा क्रियाशील रहँदै आइरहेको छ ।
पछिल्लो समय दिनप्रतिदिन बढ्दो पर्यावरणीय क्षयीकरण, अस्तव्यस्त दिनचर्या र सन्तुलित भोजनप्रतिको वेवास्ताका कारण मानव स्वास्थ्यमा असमयमै विविध प्रतिरक्षासम्बन्धी समस्या देखापर्न थालेकाले त्यसैलाई मध्यनजर गर्दै प्रतिरक्षा तथा बाल बाथरोगको पहिचानमा देखिएका समस्या, रोग पहिचानपछि निदानमा आइपर्ने बाधा व्यवधानका बारेमा यस क्षेत्रका जनसमुदायलाई सुसूचित गर्न सकियोस् भन्ने शिविरको मुख्य उद्देश्य रहेको प्रालिले जनाएको छ ।