
पोखरा । पोखराको शान्त वातावरणमा असर पार्ने ध्वनि प्रदूषण नियन्त्रण गर्न कास्की प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। वैशाख ३ देखि १४ गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की, मातहतका विभिन्न इकाइ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पोखराको संयुक्त अपरेशनमा ३५ वटा स्वरूप परिवर्तन (मोडिफाइड) गरिएका मोटरसाइकल नियन्त्रणमा लिइएका छन्।
प्रहरीले चर्को आवाज निकाल्ने, अनधिकृत साइलेन्सर जडान गरिएका तथा स्वरूप परिवर्तन गरी सवारी ध्वनि प्रदूषण फैलाउने मोटरसाइकललाई चेकजाँच गरी कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाएको छ। प्रहरीले यस अभियानले पोखराको शान्ति र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ।
स्थानीय बासिन्दाबाट चर्को आवाजका कारण स्वास्थ्य र मानसिक शान्तिमा गम्भीर असर परेको गुनासो बढेपछि यस्तो कदम चालिएको प्रहरीको भनाइ छ। मोटरसाइकलमा अनाधिकृत परिवर्तन फेला परेपछि यस्ता गतिविधिलाई निरुत्साहित गर्न प्रहरीले नियमित अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ।
प्रहरीले सर्वसाधारणलाई समेत सहयोग गर्न आग्रह गरेको छ। ध्वनि प्रदूषण गर्ने मोटरसाइकल देखेमा तत्काल जिल्ला प्रहरी कार्यालयको १०० वा जिल्ला ट्राफिक कार्यालयको १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।