
काठमाडौं ।
हनुमानढोका दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर वर्षमा एकपटक मात्र खुल्ने परम्परा अनुसार आज महानवमीका दिन भक्तजनका लागि खुला गरिएको छ।
नवरात्रको अन्तिम दिन महानवमीमा मात्र खुल्ने यस मन्दिरमा बिहानैदेखि दर्शन र पूजाअर्चनाका लागि भक्तजन लामबद्ध भएका छन्। तलेजु भवानीलाई नेवार समुदायले इष्टदेवता मानेर पूज्ने परम्परा रहेको छ। दैवीशक्ति वा मातृशक्तिका रूपमा पूजिने तलेजु ‘तुलजा’ नामले पनि प्रख्यात छ।
फूलपातीको दिन तलेजु भवानीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याइएपछि विजयादशमीको दिन बिहान पुनः मूल मन्दिरमा फर्काइने परम्परा छ। यस अवधिमा मूलचोकमै महाअष्टमीको रात ‘कालरात्रि पूजा’ गरी ५४ बोका र ५४ राँगाको बलि दिने चलन रहेको छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने विश्वाससहित तान्त्रिक विधिपूर्वक कालरात्रि पूजा गर्ने परम्परा पुस्तौंदेखि चलिआएको जनाइन्छ।
महानवमीकै दिन दशैंघर, कोतलगायत देशभरका देवी मन्दिर तथा शक्तिपीठमा विशेष पूजा, बलि तथा दुर्गा सप्तशती (चण्डी), श्रीमददेवीभागवत र देवी स्तोत्र पाठ गर्ने प्रचलन छ।
२०७७ सालमा कोरोना महामारीका कारण मन्दिर खुला गरिएको थिएन भने २०७८ सालमा खोप अभियानसँगै जोखिम कम भएको भन्दै भक्तजनका लागि खुलाइएको थियो। यस वर्ष पनि भक्तजनको सहज दर्शन सुनिश्चित गर्न सम्पूर्ण तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिएका छन्।