गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएशनकाे रक्तदानमा ३६ युनिट रगत संकलन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएशन, नयाँबजार पोखराको ३२ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित खुला रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि एशोसिएशनका प्रेस सल्लाहकार तथा ८२ औं पटक रक्तदान गरिसकेका रक्तदान अभियन्ता, सामाजिक व्यक्तित्व र सञ्चार उद्यमी कृष्ण थापाले पहिलो रक्तदाता सीता पौडेल मिश्रलाई ब्लड ब्याग हस्तान्तरण गर्दै पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए।

सो अवसरमा थापाले भने, ‘जोखिममा परेका मानिसको ज्यान बचाउन रगतको सट्टामा रगत नै हुन्छ, त्यसैले रक्तदान भन्दा ठूलो पुण्यको कार्य अरु हुन सक्दैन।’ उनले पहिलो पटक यही एशोसिएशनको आयोजनामा रक्तदान सुरु गरेको स्मरण गर्दै भने, ‘आजसम्म आइपुग्दा ८२ औं पटक रक्तदान गरिसकेको छु। प्रमुख अतिथिको सम्मानले मलाई अझै रक्तदान सचेतना अभियानमा प्रेरित गरेको छ।’

थापाले अहिले पोखरामा रगत अभावको अवस्था रहेको भन्दै एशोसिएशनले रक्तदान गरेर समाजसेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए।

त्यस अवसरमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले एशोसिएशनलाई धन्यवाद व्यक्त गर्दै अन्य संघ–संस्थालाई पनि नियमित वा आकस्मिक रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्न आग्रह गरे। उनले भने, ‘बिदापछि बजारमा चहलपहल बढेसँगै पोखरामा रगतको कमी महसुस गरिएको छ। आईतबार सभागृहमा र सोमबार नयाँबजारमा गरिएको रक्तदान कार्यक्रम आपूर्तिका दृष्टिले अत्यन्तै उपयोगी बनेको छ।’

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै एशोसिएशनका स्वास्थ्य सल्लाहकार डा. रवीन्द्र श्रेष्ठले ८२ औं पटक रक्तदान गरिसकेका कृष्ण थापालाई प्रमुख अतिथि बनाउन पाउनु गौरवको विषय भएको बताए। उनले भने, ‘शरीरको रगत तीन महिनाको अन्तरालमा दान गर्दा स्वास्थ्य राम्रो रहन्छ र अरुको जीवन पनि बचाउन सकिन्छ।’

कार्यक्रममा संयोजक रामबहादुर नेपाली, नेपाल रेडक्रस सोसाइटी गण्डकीका सभापति सूर्यप्रसाद ढकाल, पूर्व अध्यक्ष सनतकुमार भट्टराई, निवर्तमान अध्यक्ष सन्तोषकुमार मिश्र, रक्तदाता माधव खतिवडा, र पत्रकार आरजू विष्ट सल्यानी लगायतले रक्तदानको महत्वबारे मन्तव्य दिएका थिए।

रक्तदान गरेका सहभागीहरूलाई प्रमुख अतिथि कृष्ण थापा, पूर्व अध्यक्ष सानुमान जलारी, र वर्तमान अध्यक्ष विष्णुप्रसाद अधिकारीले प्रमाणपत्र वितरण गरेका थिए।

कार्यक्रम एशोसिएशनका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव वीरेन्द्र चौधरीले गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्