पोखरामा जलेका गाडी पुनः निर्माण गर्न गण्डकी मेकानिकल एशोसिएसनको चासो

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
पोखरामा जेन जि आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका सरकारी तथा निजी सवारीसाधनको पुनः निर्माण गर्न गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसन पोखराले चासो देखाएको छ ।

एशोसिएसनले ती गाडीहरुलाई सहुलियत मूल्यमा मर्मत गरी नयाँजस्तै बनाउन सकिने बताउँदै कास्की प्रशासनका प्रमुख रुद्रादेवी अधिकारीलाई बिहीबार ध्यानाकर्षण गराएको छ ।

एशोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले पोखराभित्रका जलेका ३ सय देखि ४५० सवारीसाधनहरू पुनः निर्माण गर्न सकिने अवस्थामा रहेको बताए । उनले भने, ‘हामीले जिम्मेवारी पायौँ भने यी गाडीहरू पहिलेकै अवस्थामा ल्याउन सक्छौँ । इन्जिनियर हायर गरेर, आफ्नै सीप र दक्षता प्रयोग गरेर गाडीलाई नयाँ बनाउन सक्छौं ।’

तोडफोड भएका र जलेका गाडी नयाँ गाडीको मूल्यको १० देखि ३० प्रतिशत खर्चमा पुनः निर्माण गर्न सकिने उनको भनाइ छ । पुन निर्माणबाट काम बन्ने भएपछि नयाँ गाडी खरिद गर्नुपर्ने आवश्यकता नरहेको उनको तर्क छ ।

जलेका सवारी साधन कवाडीलाई बेच्न भन्दा पुन निर्माणमा सरकारको ध्यान जानुपर्ने एशोसिएसनको माग छ ।

‘फलाम डढ्दैन, ग्यारेन्टीसहित गाडी मर्मत गर्न हामी तयार छौँ । रोजगारीका अवसर पनि सृजना हुने र ठूलो मात्रामा पैसा नेपाल बाहिर जानबाट जोगिनेछ । यस्तो अवस्थामा सबैले आ–आफ्नो तर्फबाट सहयोग गरी देशको स्रोत र सीपको उपयोग गर्नुपर्छ,’ अधिकारीले भने ।

जिल्ला प्रमुख अधिकारीले एशोसिएसनको पहललाई सकारात्मक रुपमा लिएको बताउँदै सम्बन्धित निकायसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाउने बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्