
काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आजको दिन दिदीबहिनीले दाजुभाइलाई श्रद्धा र माया सहित पञ्चरंगी टीका लगाई दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई दक्षिणा र उपहार प्रदान गरेर सम्मान व्यक्त गर्छन् ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ । समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालका अनुसार दिनभर पनि टीका लगाउन कुनै बाधा छैन । तर राज्य सञ्चालन गर्ने व्यक्तिहरूले भने साइतमै टीका लगाउनुपर्ने परम्परा समितिले जनाएको छ ।
यस वर्ष तिथि वृद्धि भएकाले पाँच दिनको तिहार छैटौँ दिनमा पुगेको छ । भाइटीकाको दिनलाई ‘यमद्वितीया’ पनि भनिन्छ । यस दिन दिदीबहिनी पूर्वतर्फ र दाजुभाइ पश्चिमतर्फ फर्केर टीका लगाउने परम्परा छ । यसो गर्दा शुभ कर्मका लागि चन्द्रमा तुला राशिमा पश्चिमतर्फ रहने शास्त्रीय विश्वास छ ।
टीका लगाउनु अघि दिदीबहिनीले घरमा स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी अष्टदलमा अष्ट चिरञ्जीवी — मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम — सहित अन्य देवताको पूजा आराधना गर्छन् । त्यसपछि दाजुभाइलाई तेलको धाराले छेकेर टीका लगाउने, माला लगाउने र आशीर्वाद दिने परम्परा रहिआएको छ ।
शास्त्रअनुसार तिहारको टीका पञ्चरंगी (रातो, सेतो, पहेंलो, हरियो र नीलो) हुनुपर्छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईका अनुसार सप्तरंगी टीकाको चलन पछिल्ला वर्षमा प्रचारका कारण फैलिएको हो, तर धार्मिक रूपमा पञ्चरंगी नै उपयुक्त मानिन्छ ।
टीका लगाइसकेपछि दिदीबहिनीले ओखर, कटुस, मसला, सेलरोटी र मिठाई जस्ता परिकार दाजुभाइलाई दिन्छन् । दाजुभाइले पनि गच्छेअनुसार कपडा, दक्षिणा वा अन्य उपहार दिएर स्नेह र कृतज्ञता प्रकट गर्छन् ।
भाइटीका केवल टीकाको मात्र पर्व होइन, दिदीबहिनी र दाजुभाइबीचको प्रेम, माया र आत्मीयताको गहिरो बन्धनको प्रतीक पनि हो ।