आहा रारा पोखरा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।

नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा भएको प्रदर्शनी पोखराको महेन्द्रपुलस्थित फल्चामा गरिएको छ । प्रदर्शनीको दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव पुरुषोत्तम कट्टेलले उद्घाटन गरे । उनले तस्बिर प्रदर्शनीले आहारारा गोल्ड कपको इतिहासलाई स्मरण गराएको बताए ।

‘हाम्रो देशले एक खालको स्ट्रगल गरिरहेको अवस्थामा सबै स्ट्रगलबाट मुक्त भएर हामीले गरिरहेको खेलकुदको फोटो प्रदर्शनी समृद्धिको संकेत हो,’ उनले भने, ‘यो काम अन्त्यन्तै सह्रानीय कार्य हो । यस्तो काम मैले अरु ठाउँमा देखेको छैन् ।’

प्रदर्शनीमा आहारारा पोखरा गोल्ड कपको सुरुदेखिका अविस्मरणीय क्षणहरू समेटेरे १ सय वटा फोटो प्रदर्शनी गरिएको नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङले बताए । आहाराराको २५ वर्षे इतिहास, सङ्घर्ष, उत्साह र गौरवलाई तस्बिरमार्फत् जनसमक्ष प्रस्तुत गरिएको हो ।

५० भन्दा बढि फोटोमा फटबल मैदान भित्रका गोल, जित–हारका क्षण, खेलाडीको संघर्ष, समर्थकको भावना तथा मैदान बाहिरको फुटबल संस्कृतिलाई प्रस्तुत गरिएको छ ।

पोखरा महानगरपालिका वडाध्यक्ष दीपेन्द्र मर्सानीले फोटोमा देखिने हरेक विषयवस्तु सत्य हुने भएकाले पत्रकातिरामा फोटोको महत्वपूर्ण भूमिका हुने बताए । उनले नेपाल फोटो पत्रकार संघ, कास्की हरेक क्रियाकलापमा आफूले साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नयाँ पुस्तालाई नेपाली फुटबलको इतिहाससँग जोड्नुका साथै पोखरालाई खेलकुद पर्यटनको केन्द्रका रूपमा प्रवर्धन गर्न प्रदर्शनीले सहयोग गर्ने सहारा क्बल पोखराका अध्यक्ष केशवबहादुर थापाले बताए । यसले पोखरालाई खेलकुद पर्यटनको केन्द्रका रूपमा प्रवद्र्धन गर्न समेत योगदान पु¥याउने अपेक्षा गरिएको उनले सुनाए ।

नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष माधव बरालले २५ वर्षको इतिहासमा कुनै पनि वर्ष नछुटाइ आयोजना हुनेले निरन्तरताको गतिलो सन्देश गएको बताए । ‘देशमा ठूला घटना र परिवेश आयो ।

६२/६३ को आन्दोलन, ७२ को भूकम्प र कोरोना महामारीको समयमा पनि आहारारा गोल्डकप रोकिएन,’ उनले भने, ‘प्रतियोगिताले अहिले २५ वर्षमा लागेको छ । अझै सयौं सयौं वर्ष सञ्चालन भइरहोस शुभकामना ।’ उनले प्रतियोगितालाई पत्रकारले प्रचारप्रसारमा कुनै कमी आउन नदिने प्रतिवद्धता जनाए ।

२०५८ सालमा क्याराभान कोल्ड कपबाट सुरु भएको प्रतियोगिता २५ वर्षमा आइपुगेको हो भने आहा रारा गोल्ड कपको २५ औँ संस्करण माघ २७ गतेबाट पोखरा रंगशालामा सुरु हुँदैछ । यो पटक ३ विदेशी, एडिभिजन क्लब, विभागीय, आयोजकसहित १२ टिमको सहभागिता रहनेछ ।

प्रदर्शनीमा राखिएको फोटोहरु आहारारा पोखरा गोल्डकपको दौरान माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा पनि प्रदर्शन गरिने एनपिजेए कास्कीका अध्यक्ष गुरुङले जानकारी दिए । शुक्रबार प्रदर्शनीमा छुटेकाहरुले प्रतियोगिता अवधिभर अवलोकन गर्न सक्ने उनले बताए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्