फोटो पत्रकार अक्षयकोषमा नागरिक अभियान्ता रामबहादुर पौडेलको १० हजार सहयोग

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा।
नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा नागरिक अभियान्ता रामबहादुर पौडेलले आर्थिक सहयोग गरेका छन् ।

नागरिक अधिकार, सुशासन र पारदर्शिताका विषयमा आवाज उठाउने पौडेलले कोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । पोखरा महेन्द्रपुलस्थित फल्चामा शुक्रबार भएको फोटो प्रदर्शनीमा अभियान्ता पौडेलले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण पछि अभियान्ता पौडेलले जोखिम मोलेर कार्यक्षेत्रमा खटिने फोटो पत्रकारहरूका लागि स्थापित यो कोषले भोलिका दिनमा अप्ठ्यारो पर्दा सारथि बन्ने बताए ।

सहयोग ग्रहण पछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले अभियान्ता पाैडेललाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए ।

कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ । यस कोषमा यसभन्दा अघि सामाजिक अभियान्ता सरिता गुरुङले १५ हजार, सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुङले १० हजार, सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन् ।

यसैबिच, एनपिजेए कास्कीको आयोजना र सहरा क्लब पोखराको आयोजनामा शुक्रबार भएको फोटो प्रदर्शनी भव्यताका साथ सकिएको छ ।

प्रदर्शनीमा सहारा क्लबको आयोजनामा आहारारा पोखरा गोल्ड कपको सुरुदेखिका अविस्मरणीय क्षणहरू समेटेर १ सय वटा फोटो प्रदर्शन गरिएको थियो ।

२०५८ सालमा क्याराभान गोल्ड कपबाट सुरु भएको प्रतियोगिता २५ वर्षमा आइपुगेको छ । यो वर्षको प्रतियोगिता माघ २७ गतेबाट पोखरा रंगशालामा सुरु हुँदैछ ।

प्रदर्शनीमा राखिएको फोटोहरु आहारारा पोखरा गोल्डकपको दौरान माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा पनि प्रदर्शन गरिने एनपिजेए कास्कीका अध्यक्ष गुरुङले जानकारी दिए । शुक्रबार प्रदर्शनीमा छुटेकाहरु प्रतियोगिता अवधिभर रंगशाला परिसरमा पुगेर उक्त फोटोहरु अवलोकन गर्न सक्ने उनले बताए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्