पोखरा । कास्कीमा मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने पाँच जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विभिन्न स्थानमा सञ्चालन हुने स्कुल बसका चालकहरूले मापसे गरी सवारी साधन चलाउने गरेको गुनासो आएपछि सोमबार बिहान करिब ९:३० बजे ट्राफिक प्रहरीसहितको टोलीले चेकिङ अभियान सञ्चालन गरेको थियो।
चेकजाँचका क्रममा मापसे गरेको पुष्टि भएपछि माउन्ट हेभन बोर्डिङ स्कुल, कुमुदिनी होम्स बोर्डिङ स्कुल, बिन्देश्वरी बोर्डिङ स्कुल, अंजली बोर्डिङ स्कुल र एसओएस बोर्डिङ स्कुलका बस चालकहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा पर्नेमा पोखरा महानगरपालिकाका विभिन्न वडाका ३३ वर्षीय आनन्द परियार, ३७ वर्षीय गौतम गुरुङ, ४४ वर्षीय भक्तबहादुर गुरुङ, ४८ वर्षीय डम्बरबहादुर गुरुङ र ४७ वर्षीय पदम बि.क. रहेका छन्।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ। साथै, विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै विद्यालय बसमा नियमित रूपमा मापसे चेकिङ अभियानलाई निरन्तरता दिइने पनि प्रहरीले जनाएको छ।









