पोखरा । पोखरा को लेकसाइड क्षेत्रमा पर्यटकलाई दुःख हैरानी दिने तथा लुटपाटमा संलग्न रहेको आरोपमा १६ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रातिको समयमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरी विभिन्न प्रलोभन देखाउँदै दुःख हैरानी दिने, लुटपाट गर्ने तथा अनैतिक क्रियाकलाप बढ्दै गएको भन्ने जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले निगरानी बढाइएको थियो।
सोही क्रममा प्रहरी टोलीले शनिबार राति करिब १२:३० बजेदेखि बिहान २:०० बजेसम्म लेकसाइड क्षेत्रमा विशेष अभियान सञ्चालन गरेको थियो। उक्त अभियानका क्रममा पर्यटकलाई लक्षित गरी अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा १६ जना महिलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। साथै यस्ता गतिविधि नियन्त्रणका लागि आगामी दिनमा पनि निगरानी तथा कारबाहीलाई कडाइका साथ निरन्तरता दिइने जनाइएको छ।








