सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई दयाशंकर पालिखे पत्रकारिता सम्मान

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालन तथा दयाशंकर पालिखेका परिवारको पहलमा स्थापना गरिएको ‘प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मान’ यस वर्ष पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई प्रदान गरिने भएको छ ।

महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै २०८१ सालका लागि बस्नेत र २०८२ सालका लागि बराललाई सम्मान गर्ने निर्णय गरेको हो।

सम्मान अन्तर्गत नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, दोसल्ला तथा सम्मानपत्र प्रदान गरिनेछ। पत्रकारद्वयलाई आगामी वैशाख २२ गते, दयाशंकर पालिखेको स्मृति दिवसको अवसरमा सम्मान गरिने महासंघ कास्कीका सचिव भूपाल गुरुङले जानकारी दिए।

प्रतिभा छनोट समितिमा महासंघ कास्कीका पूर्वअध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी रवीन्द्रनाथ बास्तोला, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, पूर्वअध्यक्ष रामकृष्ण ज्ञवाली, अध्यक्ष माधवप्रसाद बराल र सचिव भूपाल गुरुङ सदस्य रहेका थिए।

तनहुँको व्यास नगरपालिका–२, दमौलीमा जन्मिएका सूर्यचन्द्र बस्नेत विगत ३० वर्षदेखि पत्रकारितामा सक्रिय छन्। उनी हाल राष्ट्रिय समाचार समितिमा वरिष्ठ सम्पादकका रूपमा कार्यरत छन्। यसअघि उनले राष्ट्रपुकार साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचारपत्र र आदर्श समाज दैनिकमा पनि काम गरिसकेका छन्।

यस्तै, पोखरा–७, नुवारथोकमा जन्मिएका कृष्णमणि बराल २०५५ सालदेखि पत्रकारितामा सक्रिय छन्। उनी विविसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट दैनिक र इनेचरन्युज डटकममा आबद्ध छन्। साथै, उनले दि हिमालय टाइम्स, समाधान दैनिक, देशान्तर साप्ताहिक र नेपाली टाइम्समा पनि काम गरेका छन्।

पत्रकारद्वयलाई पत्रकारितामार्फत् समाज, राष्ट्र र लोकतन्त्रमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गर्न लागिएको अध्यक्ष माधवप्रसाद बरालले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्