पोखरामा तीन दिनसम्म जेसीज सप्ताहन्त, युवाका लागि विभिन्न कार्यक्रम

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । युवा लक्षित कार्यक्रमसहित पोखरा जेसीजले बैशाख १८ देखि २० गतेसम्म जेसीज सप्ताहन्त आयोजना गर्ने भएको छ।

सन् १९७५ मा स्थापना भएको पोखरा जेसीजले पोखरामा पत्रकार सम्मेलन गरी सप्ताहन्त कार्यक्रम सार्वजनिक गरेको छ। ‘परिष्कृत युवा, सशक्त नेतृत्व’ भन्ने नारासहित कार्यक्रम आयोजना गर्न लागिएको हो।

‎कार्यक्रम संयोजक तथा उपाध्यक्ष ई. रविन्द्र गोदारले बैशाख १८ गते उद्घाटनसँगै वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। पोखरा महानगरपालिका वडा नं. ५ सँगको सहकार्यमा युवाका लागि वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सञ्चालन गरिनेछ।

‎बैशाख १९ गते कास्कीको मादी गाउँपालिका वडा नं. ९ मिजुरेमा निःशुल्क आँखा शिविर आयोजना गरिनेछ। हिमालय आँखा अस्पतालको सहयोगमा स्थानीय समुदायलाई सेवा दिइने बताइएको छ।

बैशाख २० गते सप्ताहन्तको अन्तिम दिन वृहत रक्तदान कार्यक्रम र बिजनेस आइडिया सम्बन्धी कार्यक्रम गरिनेछ। नवप्रवर्तनकारी सोच भएका युवालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम राखिएको अध्यक्ष सुमन पहारीले बताए।

उनले विगत पाँच दशकदेखि पोखरा जेसीजले युवाको नेतृत्व र व्यक्तित्व विकासमा काम गर्दै आएको बताए।

‎प्रचार–प्रसार समितिका संयोजक संजय थापाले यस्ता कार्यक्रमले युवामा चेतना बढाउने बताए। उनले यस्ता कार्यक्रमलाई वार्षिक क्यालेन्डरमै समावेश गरिएको जानकारी दिए।

पोखरा जेसीजका अध्यक्ष सुमन पहारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन महासचिव संजय पौडेलले गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्