प्रतिभा माविमा नमुना मतदान : क्याप्टेनमा प्राप्ति र भाइस क्याप्टेनमा कुसुम विजयी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा आयोजित नमुना मतदान कार्यक्रममा स्कुल क्याप्टेनतर्फ प्राप्ति पौडेल र भाइस क्याप्टेनतर्फ कुसुम श्रेष्ठ विजयी भएका छन् ।

‎विद्यालयले कक्षा १० को सामाजिक विषयअन्तर्गत निर्वाचन प्रक्रियासम्बन्धी पाठलाई व्यवहारिक रूपमा सिकाउने उद्देश्यले आयोजना गरेको नमुना निर्वाचनमा कक्षा ६ देखि १० सम्म अध्ययनरत ७६० विद्यार्थी मतदाता सहभागी भएका थिए । कुल मतमध्ये ७४७ मत सदर र १३ मत बदर भएको विद्यालयका नेपाली विभागीय प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

स्कुल क्याप्टेन पदका लागि प्राप्ति पौडेलले २३४ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी शुभम सुबेदीले २०२ मत प्राप्त गरे । अन्य उम्मेदवारमध्ये प्रिन्स विकले १६२, सरगम रसाइलीले ७२, सिमरन पण्डितले ३२, सार्थक गैरेले २७ र क्रिश्चिना गुरुङले १८ मत प्राप्त गरेका थिए ।

‎यस्तै भाइस क्याप्टेन पदमा कुसुम श्रेष्ठ ३१२ मतसहित विजयी भइन् । उनका प्रतिस्पर्धी कृतिका खड्काले १७४, विश्वास रानाभाटले १५७ तथा आस्था गुप्ताले १०२ मत प्राप्त गरेका थिए ।

‎स्कुल क्याप्टेनमा निर्वाचित भएपछि प्राप्ति पौडेलले आफू कन्फिडेन्ट र जिम्मेवारीबोधका साथ विद्यालयमा अनुशासन कायम राख्न प्रतिबद्ध रहेको बताइन् । उनले विद्यालयमा शान्त वातावरण निर्माण गर्दै भाइबहिनीहरूलाई अंग्रेजी सुधार गर्न प्रेरित गर्ने, गेम पिरियडलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने तथा कुनै पनि विद्यार्थीलाई हेपिन नदिने वातावरण बनाउन प्रयास गर्ने बताइन् ।

भाइस क्याप्टेनमा निर्वाचित कुसुम श्रेष्ठले विद्यालयमा अनुशासन कायम राख्दै सकारात्मक र सिर्जनात्मक वातावरण निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताइन् । उनले गेम पिरियडको सदुपयोग गर्दै विद्यार्थीहरूलाई अतिरिक्त गतिविधिमा सक्रिय बनाउने, विद्यालयमा शान्त तथा मित्रवत् वातावरण कायम गर्ने र सबै विद्यार्थीबीच सहकार्य तथा आत्मीयता बढाउने लक्ष्य रहेको उल्लेख गरिन् ।

‎मंगलबार बिहान ११ः१० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको मतदानमा छात्र र छात्राका लागि छुट्टाछुट्टै लाइन व्यवस्थापन गरिएको थियो । मतदान केन्द्रमा मतपत्र, स्वस्तिक छाप, मतपेटिका लगायत सामग्री राखी वास्तविक निर्वाचनजस्तै वातावरण तयार गरिएको विद्यालयका सह–प्राचार्य प्रदीप खनालले बताए ।

विद्यालयका सामाजिक विषय विभागीय प्रमुख तथा प्रमुख निर्वाचन अधिकृत डम्बर क्षेत्रीका अनुसार विद्यार्थीलाई मताधिकार, मतदान प्रक्रिया र लोकतान्त्रिक निर्वाचन प्रणालीबारे व्यवहारिक ज्ञान दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

‎सैद्धान्तिकभन्दा प्रयोगात्मक सिकाइ प्रभावकारी हुने भएकाले यसले विद्यार्थीलाई लोकतान्त्रिक अभ्यास बुझ्न सहयोग पुगेको विद्यालयका सहायक प्राचार्य बुद्धिमोहन पौडेलले बताए ।

‎विद्यार्थीहरूले पनि प्रत्यक्ष मतदान प्रक्रियामा सहभागी हुँदा निर्वाचनबारे स्पष्ट बुझाइ बनेको बताएका छन् । कक्षा १० का छात्र गौरव कुँवरले व्यवहारिक रूपमा मतदान गर्न पाउँदा सिकाइ अझ प्रभावकारी भएको बताए । छात्रा दिलसा थापाले नागरिक भएपछि मतदान कसरी गर्ने भन्ने विषयमा राम्रो जानकारी प्राप्त भएको बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्