भोलिदेखि सुरु हुने १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पुरा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

हेमजा।१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी पुरा भएको छ । आइतबारदेखि सुरु हुने महोत्सवको तयारी पूरा भएको आयोजक विष्णुपादुका क्लवले जनाइएको छ ।
महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा क्लबको बहुउद्देश्यीय भवन शिलान्यास गरिने छ । कार्यक्रम उद्घाटन पुर्व हेमजाको माइ स्थानबाट शोभा यात्रा सहित झाँकी र्‍याली प्रदर्शन गरिनेछ । झाँकी र्‍याली  माइ स्थानदेखि मिलनचोक हुदै महोत्सव स्थल पुग्ने छ ।
प्रतिकिलो ४० रुपैयाँमा आलुको कारोवार गरिने महोत्सव मुल आयोजक समितिका संयोजक सुबिन श्रेष्ठले जानकारी दिनुभयो । सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ महोत्सव गर्न लागिएको हो । हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन् ।
महोत्सवमा प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको छ । महोत्सव सम्पन्न गर्नका लागि करिव ४८ लाख १० हजार खर्च लाग्ने र ४९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको छ ।
हेमजाको कुल १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आइएको छ । जसअन्तर्गत त्यहाँका ५ सय ४० घरपरिवार किसान व्यावसायिक रुपमा आलुखेतीमा आबद्ध छन् ।यस वर्षको महोत्वव अन्तर्गत हेमजामा करिव ८० टन आलुको कारोवार हुने आयोजकको अपेक्षा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्