चुरोट चोरेको आरोप लगाउँदा हत्या, ३ दिनपछि समातिए प्रेम

  • ख-
  • ख+

असोज पहिलो साता सिन्धुलीका प्रेम भनेर चिनिने नन्दलाल श्रेष्ठ (२३) पोखरा आए । सुनकोशी गाउँपालिका १ दुम्जाका श्रेष्ठ काम गर्न रिक्सासहित पोखरा आएका थिए ।

उनी कवाडी जम्मा गरेर बेच्ने काममा लागे ।

२२ कात्तिकमा उनको भेट दाङ स्थायी घर भएका कृष्ण चौधरी (२५) सँग भयो । ४ बजेबाट गफगाफमा भुलेका उनीहरु ७ बजेसँगै बसेर ‘सौफी’ नाम गरेको रक्सी पिए ।

कृष्णले नन्दलाललाई आफूसँगै उनको बासस्थान जान प्रस्ताव गरे ।

कृष्णका दम्पति बसुन्धारा पार्कको प्रतिक्षालयमा बस्थे । श्रीमतीले खाना पकाएको भन्दै कृष्णले नन्दलाई बसुन्धरा पार्क लगे । तीनै जनाले खाना खाए ।

खानापछि कृष्णकी श्रीमतीले चुरोट हराएको बताइन् । कृष्णले एक्कासी ‘किन चुरोट चोरेको ?’ भन्दै नन्दलालको पेटमा समाते ।

त्यसको प्रतिकारमा नन्दलालले कृष्णलाई धकेलिदिए । रिसले चुर बनेका कृष्णले अगेनोको ढुंगा उचालेर हिर्काउन खोजे ।

नन्दलालले उल्टै ढुंगा खोसेर कृष्णको टाउकामा बजाइदिए । कृष्ण घाइते भए । तर प्रहरीलाई १ घन्टा ढिला गरी सूचना गयो ।

हत्या गर्न प्रयोग भएको ढुंगा र घटनास्थलमा भेटिएको रगत लत्पतिएको टिसर्ट ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले कृष्णलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लग्यो । उता नन्दलालको खोजीलाई प्रहरीले तीव्रता दियो ।

भोलिपल्ट २३ कात्तिकमा कृष्णको मृत्यु भयो । त्यसबेलासम्म नन्दलालले पोखरा छाडिसकेका थिए ।

कसरी पक्राउ परे नन्दलाल ?

कृष्णलाई घाइते बनाएर नन्दलाल त्यहाँबाट फरार भए । उनले रिक्सा नै लिएर हिँडे ।

प्रहरीले उनको बारेमा सामान्य जानकारी बटुलेपछि उनी रिक्सामै कतै भागेको आशंका गर्‍यो । कास्की प्रहरीले गण्डकी प्रदेशभित्रका सबै जिल्ला प्रहरी कार्यालयमा उनको हुलियासहित खबर गर्‍यो।

नन्दलाल आफ्नै रिक्सामा भागेका थिए । उनलाई मंगलबार तनहुँ आँबुखैरेनी गाउँपालिका २ माक्र्युबाट पक्राउ गरिएको छ ।

नन्दलाललाई कर्तव्य ज्यान मुुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवास हमालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्