
पोखरा ।
हेभी ईक्विपमेन्ट डिभिजन, पोखराले विगत ३६ वर्ष देखी सडक निर्माण तथा संभार लगायतका सम्बन्धित मन्त्रालय एवं सडक विभाग अन्तर्गत रहेका यान्त्रिक उपकरण र सवारी साधनहरु मर्मत संभार गर्ने कार्य गरी सेवा प्रदान गर्दै आएको छ ।
यस डिभिजन अन्तर्गत रहेका भारी उपकरणहरु बाटो सुचारु राख्ने, सडक निर्माण तथा मर्मत कार्यमा अधिकतम प्रयोग गरिन्छ ।
साथै आईडल बसेको समयमा र यस कार्यक्षेत्र भित्र रहेका सडक डिभिजन तथा सडक आयोजनामा अमानती काममा जानु नपर्ने समयमा अन्य निकायहरुलाई भाडामा उपलब्ध गराई राजस्व संकलन गर्ने कार्यमा समेत डिभिजनले उल्लेखनिय भुमिका निर्वाह गरेको हेभी ईक्विपमेन्ट डिभिजन, पोखराका प्रमुख विजय कुमार साहले बताए ।
यस डिभिजनमा हेभी ईक्विपमेन्ट, मिडियम भेइकल, लाईट भेइकल तथा सबै भेईकलहरुको मेन्टिनेन्स गरिन्छ । सडक निर्माण तथा संभार गर्दा बिग्रेका यान्त्रिक उपकरण तथा सवारी साधनहरु बनाउन यस डिभिजनमा ल्याईन्छ र मर्मत गरिन्छ । अन्यथा सम्वन्धित ठाउँबाट भेईकल ल्याउन असहज भएमा फिल्डमै मेकानिक्स र अपरेटर गएर पनि भेईकलको मर्मत गर्ने गर्छन् ।
यस डिभिजनले यान्त्रिक उपकरणहरुको गुणस्तरीय मर्मत संभार गरी उपलब्धता कायम गर्ने र उपकरणहरुको उपयोगिता उच्च राख्ने, यस गण्डकी प्रदेश अन्तर्गतका क्षेत्रहरु अन्तर्गत रहेको विभिन्न सडक डिभिजनहरु आयोजनाहरुको सडक निर्माण तथा मर्मत संभार कार्यमा यान्त्रिक उपकरणहरु उपलब्ध गराई सहयोग गर्ने सम्बन्धित सडक डिभिजन तथा आयोजनाको कार्यक्षेत्र भित्र पर्ने मुख्य राजमार्गहरुको वर्षयामको बेलामा सम्वेदनशिल ठाउँहरुमा मेशिन उपकरणहरु तैनाथ गरी बाढी, पहिरोले अवरुद्ध बाटो सुचारु राख्न आकास्मिक उपकरणहरु सम्बन्धित आयोजना तथा डिभिजनहरुलाई उपलब्ध गराई सहयोग गर्ने लगायतका कामहरु प्राथामिकतामा राख्दछ ।

यस डिभिजनबाट आइडल बसेको समयमा र यस कार्यक्षेत्र भित्र रहेका सडक डिभिजन तथा सडक आयोजनामा अमानती काममा जानु नपर्ने समयमा यस डिभिजनबाट यान्त्रिक उपकरणहरु सडक निर्माण तथा मर्मत कार्यको लागि सडक डिभिजन तथा सडक आयोजनाबाट ठेक्का पाएका कन्ट्रयाक्टरले सम्बन्धित निकायबाट सिफारिस साथ आवश्यक मेशीन बापतको राजस्व नेपाल सरकारको राजस्व खातामा जम्मा गरेपछि भाडामा लग्न पाइन्छ ।
निर्माण उपकरणहरुको भाडादर सडक विभागबाट तोकिए बमोजिम लाग्ने छ । मर्मत तथा संभारको हकमा भने यस डिभिजनको कार्यक्षेत्र भित्रका सडक विभाग अन्तर्गतका डिभिजन तथा आयोजनाका कार्यालयहरुको यान्त्रिक उपकरण तथा सवारीसाधनहरु मात्र मर्मत सम्भार गर्ने गरिएको डिभिजन प्रमुख साहले जानकारी दिए ।
हाल यस डिभिजन अन्तर्गत रहेका भारी तथा मध्यम उपकरणहरुको मर्मत संभार तथा संचालन गर्ने, वर्षायाममा प्रयोग हुने उपकरणहरुको मर्मत सम्भार गर्ने कार्यको र मेसनरी उपकरणहरु नियमित मर्मत संभार तथा संचालन गर्ने काम गरिरहेको छ भने कालीगण्डकी करिडोर, डुम्रे बेसीसहर चामे सडक खण्ड, बागलुङ्ग सडक डिभिजन लगायतका स्थानहरुमा आफ्नो इक्विपमेन्टहरु पठाएको छ ।
यस डिभिजनमा वर्षायाम तथा दैवी प्रकोपको समयमा बढि कामको चाप बढ्ने गर्छ । कुल ६६ दरबन्दी भएकोमा ५० जना कर्मचारी मात्र कार्यरत रहेको यस डिभिजनमा मेकानिक्स र अपरेटर मात्र २६ जना कार्यरत रहेका छन् ।