पोखरा । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा खुल्ला क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।
पोखरा नदीपुरस्थित छन्तयाल समाजको खेल मैदानमा पोखरा भलिबल प्रशिक्षण केन्द्रको र ए फोर ग्राफिक्स डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा यही असोज ९ देखि १३ गतेसम्म खुल्ला क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएका छन्।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौ वार्षिकोत्सवको अवसरमा राष्ट्रीय खेल भलिबल को विकास, स्वास्थ्यको लागि खेलकुद, नयाँ खेलाडीको प्रतिभा प्रष्फुटनको लागि प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा पुरुषतर्फका विजेताले नगद १ लाख ३० हजार, उपविजेताले ८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।यस्तै महिलातर्फको विजेताले नगद ५० हजार र उपविजेताले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयाेजक मनोज खड्काले बताए ।
पुरुषतर्फ भलिबल प्रतियोगितामा सहभागिताको लागि एक टिमलाई ६ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ भने महिला भलिबल प्रतियोगितामा सहभागिताको लागि एक टिमलाई ४ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको संयोजक खड्काले बताए।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् । उक्त प्रतियोगितामा पुरुषतर्फ कुनै पनि १ टिममा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको सातौं,आठौं र नवौं प्रतियोगितामा सहभागितामा जनाएको ३ जना र महिलातर्फ २ जना मात्र खेलाडी समावेश गर्न पाउने प्रतियोगिता संयोजक खड्काले बताए।
संयोजक खड्काका अनुसार पुरुषतर्फको खेल लिगकम नकआउट र महिलातर्फको खेल नकआउट सिस्टममा सञ्चालन गरिने छ ।
२०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्रले नयाँ खेलाडी उत्पादनसँगै सामाजिक कार्यमा समेत काम गर्दै आएको छ ।
प्रतियोगितामा १० लाख ३२ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको आयोजकले जनाएका छन् । प्रतियोगिता अवलोकन लागि दर्शकलाई दोस्रो दिनबाट टिकट दर कायम गरिने आयोजकले जनाएको छ ।