पर्यटन मन्त्रालयका १०० दिन पर्यटन र उद्याेगकाे समृद्विसँगै फर्महरुकाे जरिवानासम्म

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले मन्त्रालयले पर्यटन र उद्योग क्षेत्रको विकासका लागि विभिन्न महत्वपूर्ण योजनाहरू लागू गरेकाे बताएका छन् ।

यी योजनाहरूले केवल स्थानिय जनताको समृद्धि सुनिश्चित मात्र नभई दीगो आर्थिक विकासमा पनि योगदान पुर्याएकाे उनकाे भनाई छ ।

मन्त्रालयका १०० दिनका उपलव्धी सार्वजनिक गर्दै उनले योजनाका मुख्य उद्देश्यहरूमा पर्यटकीय उपजको विविधिकरण, पूर्वाधारको सुधार, सेवा र सुविधाको विस्तार, र पर्यटन जनशक्तिको विकास समावेश गरिएकाे बताए ।

‘मन्त्रालयले वृद्धिमुखी उद्यमशीलता र रोजगारी सिर्जना कार्यक्रमले युवा र महिलामा उद्यमशीलता प्रवर्द्धन गर्दै गण्डकी प्रदेशको समृद्धि र स्थायित्व सुनिश्चित गरेको छ।’ उनले भने-‘आर्थिक वर्ष २०८१/८२ को प्रथम चौमासिक अवधिमा १०० दिनका प्रमुख उपलब्धिहरूका रूपमा, विभिन्न स्थानिय तहसँग समझदारी सम्झौता गर्दै पायलट परियोजनाहरू सञ्चालनमा आएका छन्। ‘

यसबाहेक, गण्डकी प्रदेशको पर्यटन पूर्वाधारमा ३३९ योजनाहरूको कार्यान्वयन भएको छ र ७ वटा योजनाहरू सम्पन्न भएकाे मन्त्रालयका सचिव कमानसिंह गुरुङले बताए ।

१०० दिनकाे अवधिमा पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको पहल, र स्थानीय पर्यटन क्षेत्रसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन भएका छन् भने उद्योग क्षेत्रको दिगो विकासमा पनि सक्रिय कदम चालेका छन्।

सचिव गुरुङले ६३८ नयाँ उद्योगहरूको दर्ता र ८७५ नयाँ वाणिज्य फर्महरूको दर्तासँगै, ७५ पटक बजार अनुगमन गरि नियम विपरीत कार्य गर्ने फर्महरूलाई जरिवाना गरिएको जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले पर्यटन व्यवसायीहरूसँगको सहकार्यमा विभिन्न पर्यटन पूर्वाधार निर्माणका लागि ११ वटा सेटलाईट गन्तव्यमा सम्झौता समेत गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्