आहा रारा गोल्डकपको फाइनल खेल भोलि,संकटा क्लब र अफ्रिकन रुट एसोसियसन भिड्ने

  • ख-
  • ख+

पोखरा । पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनल खेल भोलि (शनिबार) हुँदैछ ।

पोखरा रंगशालामा अपरान्ह हुने फाइनलमा संकटा क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनलका लागि मैदान उत्रदा दुबै टिमको लक्ष्य पहिलो पटक उपाधिमा जित्नु हुनेछ ।

फाइनल अघिको प्रि-म्याच कन्फरेन्समा दुबै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।

संकटाका मुख्य प्रशिक्षक सल्यान खड्कीले पाँच पटकको प्रयासमा फाइनल पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्ने रहेको बताए ।

‘पाँच पटक प्रयास गर्दा फाइनल पुगेका छौँ । उपाधि उचाल्ने प्रयास रहने छ,’ खड्कीले भने, ‘दुई लक्ष्य लिएका आएका थियौं । एउटा उपाधि र अर्को फाइनल पुग्ने । एउटा पूरा भयो अर्को भोलि हुन्छ ।’

संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

संकटाका कप्तान सरोज दाहालले सहाराबाट खेल्दा उपाधि जितेको अबको योजना संकटालाई उपाधि दिलाउने भएको बताए ।

‘सहाराबाट खेल्दा उपाधि जितेको छु । अब संकटाबाट ट्रफी उठाउने छु,’ उनले भने ।

अफ्रिकन रुट पहिलो सहभागितामै फाइनल पुगेको हो । अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै संकटासँगको भेट पक्का गरेको हो ।

अफ्रिकनका प्रशिक्षक सिंगे बोरिसले नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,’ उनले भने ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्