सरकारले आगामी आर्थिक जर्ष २०७८/०७९ को लागि बजेट सार्वजनिक गरेको छ ।
सरकारका तर्फबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार बजेट सार्वजनिक
गरेका हुन् । प्रतिनिधिसभा संसद जिघटन भएका कारण अर्थमन्त्री पौडेलले
अध्यादेशमार्फत आएको बजेट सिंहदरबारस्थित प्रधानमन्त्री तथा
मन्त्रीपरिषद्को कार्यालयबाट प्रस्तुत गरेका थिए ।
अर्थमन्त्री
पौडलले १६ खर्ब बढीको बजेट बिनियोजन गर्दा प्राय सबै क्षेत्रलाई समेट्ने
प्रयास गरेका छन् । कतिपयले पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले
प्रस्तुत गरेको बजेट भन्दा उत्कृष्ट बजेट भनेका छन् भने कतिपयले बजेट
वितरणमुणी र चुनाव केन्द्रित भएको टिप्पणी गरेका छन् । हामीले बजेटले नीजि
क्षेत्रले उठाउँदै आएका विषयवस्तुलाई उठान गर्न सक्यो की सकेन अर्थात बजेट
समग्रमा कस्तो छ भनेर निजी क्षेत्र प्रतिनिधिमुलक पात्रको भनाइ समेट्ने
प्रयास गरेका छौं ।
बजेट उद्योगी व्यवसायीको हितमा छ
ठाकुरकुमार श्रेष्ठ-कार्यवाहक अध्यक्ष, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही
बजेट
समग्रमा सुन्दा राम्रै छ । निराशाजनक छैन् । उत्साहजनक छ । यसको
कार्यान्वयन पक्ष ग्राहो देखिन्छ । कार्यान्यवन पक्ष बलियो हुनुपर्छ ।
राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ संकलन गर्ने भनिएको छ । यसबाट
अपुग रकम जुटाउन ऋणकै सहारा लिइने भनिएको छ । ३ खर्ब ९ अर्ब २९ करोड
रुपैयाँ वैदेशिक ऋण र २ खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट जुटाइने भनिएको
छ । बाँकी ६३ अर्ब ३७ करोड रुपैयाँ विदेशी दातृ निकायले अनुदानका रूपमा
उपलब्ध गराउने भनिएको छ । यसले झन स्थिति झन नाजुक बन्दै गएको छ । विगतमा
प्रतिव्यक्ति २८ हजार ऋण भए पनि अहिले ५२ हजार पुगेको छ । ऋणात्मक बजेट
कहिलेसम्म ? निजी क्षेत्रको लागि यो बजेट व्यवहारिक छ । विगतका वर्षहरुको
बजेट भन्दा यो बजेट राम्रो छ । चुनावी बजेटको रुपमा लोकप्रियताको हिसाबले
भए पनि अहिलेको बजेट राम्रो छ । उद्योगी व्यवसायीको हितमा छ । बिना धितो २५
लाख ऋण पाउने भनिएको छ तर यो कार्यान्यवन हुन्छ जस्तो लाग्दैन । विगतमा
बिना धितो महिलाहरुलाई १५ लाख दिने भनिएको थियो वृद्ध भत्ता बढाउन आवश्यक
थियो कि थिएन ? सबैभन्दा सकारात्मक कुरा कोरोनाविरुद्धको खोपको लागि धेरै
रकम बिनियोजन भए पनि कहिलेसम्म उपलब्ध गराउन भनेर समयअवधि सरकारले तोकेको
भए अझ राम्रो हुन्थ्यो । भ्रष्टाचार न्यूनीकरणमा बजेटले सम्बोधन गर्न सकेको
छैन् । कर्मचारीले बजेट कार्यान्यवनमा ध्यान दिनुपर्छ । रुपन्देही
जिल्लाको लागि पनि बजेट राम्रो र सकारात्मक छ । निर्माणाधिन गौतमबुद्ध
अन्तर्राष्ट्रिय विमानस्थल, सिद्धार्थ रंगशाला (क्रिकेट खेलमैदान),
भैरहवा–बुटवललाई मेघासिटी बनाउने, शहरी विकास, लुुम्बिनी सांस्कृतिक
नगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गर्ने, भैरहवा भन्सार कार्यालय
बेलहियामा २ हजार सवारीसाधन पार्किङ गर्न मिल्ने यार्ड निर्माण लगायतका
विषय महत्वपूर्ण छ । यो माग धेरै पटक उठाउँदै आएका थियौं ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नु बजेटको सकारात्मक पक्ष हो
नारायण प्रसाद भण्डारी-अध्यक्ष, उद्योग व्यापार संगठन, रुपन्देही
आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले प्रस्तुत गरेको बजेट चाहिं
कार्यान्वयन हुन सके यो ऐतिहासिक बजेट हुनेछ । यसले समयअनुकुल/समयसापेक्ष
स्वास्थ्य क्षेत्रलाई रकम छुट्टयाएको छ । स्वास्थ्य क्षेत्रका लागि १ खर्ब
२२ अर्ब ७० करोड रुपैयाँ बिनियोजन भएको छ । स्वास्थ्य क्षेत्रलाई राम्रोसंग
समेटेको छ । स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नु बजेटको सकारात्मक
पक्ष हो । सरकारले नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन २६ अर्ब
छुट्याएको छ । यो एकदमै सकारात्मक छ । उद्योग व्यवसाय क्षेत्रको कुरा गर्दा
बजेटले विभिन्न क्षेत्रमा छुट सुविधा दिएको छ । उद्योगी व्यवसायीहरुले
उठाएका मागहरुमध्ये करिब ७५ प्रतिशत मागको सम्बोधन भएको छ । उद्योगी
व्यवसायीले तत्काल माग गरेको बन्द (निषेधाज्ञा) अवधिको बैंक ब्याज मिनाहा र
घर भाडा छुटबाहेक अरु धेरै माग पुरा भएका छन् । करसम्बन्धि छुट लगायत
विभिन्न छुट सुविधा बजेटले प्रदान गरेको छ । समग्रमा भन्नुपर्दा बजेटको
कार्यान्यवन भए यो बजेट ऐतिहासिक हुनेछ ।
अहिलेको बजेट सन्तुलित छ
अजय कुमार गुप्ता-महासचिव, लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देही
अहिलेको
बजेट सन्तुलित छ । बजेट बजेटमै सीमित नहोस् भन्ने हामी सबैको चाहना हो ।
बजेटले जनतालाई आकर्षित गर्ने खालको भए पनि मुख्य कुरा कार्यान्यवन पक्ष
बलियो हुनुपर्छ । सबै बजेटले नागरिकलाई आकर्षित गरे पनि कार्यान्वयन पक्ष
राम्रो हुन सकेको छैन् । सपना देख्नु राम्रो हो तर देखेको सपना पुरा
हुनुपर्छ । बजेटले उद्योगी व्यवसायीलाई करमा खासै सहुलियत दिन सकेको छैन् ।
छुट दिने प्रक्रिया सोझो छ तर पाउने प्रक्रिया लामो र अव्यवहारिक हुँदै
आएको छ । नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनको लागि रकम बिनियोजन
गर्नु स्वागतयोग्य छ । तर कहिलेसम्म खोप उपलब्ध गराउने भन्ने कुरा पनि आएको
भए अझै राम्रो हुन्थ्यो । नागरिकलाई बजेट छिटो भन्दा छिटो उपलब्ध
गराउनुपर्छ । अहिलेको बजेटको आलोचना गर्नुभन्दा कार्यान्वयन गर्नेतर्फ
सहयोग गर्नुपर्छ ।
यसपटकको बजेट विगतका वर्षहरु भन्दा राम्रो छ
ज्ञानु पौड्याल-केन्द्रीय सदस्य, घरेलु तथा साना उद्योग महासंघ
अहिलेको
बजेट समावेशी छ । सबै क्षेत्रलाई समेटेको छ । मुख्यत : कार्याान्वयनमा नै
जोड दिनुपर्छ । बजेटले शिक्षा र स्वास्थ्यलाई बढी प्राथमिकतामा राखेको छ ।
महिला, बालबालिका, सामाजिक क्षेत्रलाई अहिलेको बजेटले ओघटेको छ । सहकारी,
घरेलु उद्योग, उद्यमशिलता, रोजगारलाई रकम छुट्याएको छ । कृषि, दुग्ध
परियोजना, बेरोजगार युवालाई रोजगार दिने जस्ता विषयमा बजेट केन्द्रीत छ ।
सामाजिक सुरक्षा, महिलालाई निःशुल्क कानुनी सहायता, परामर्श लगायत विषय पनि
समेटिएका छन् । स्थानीय कच्चापदार्थको प्रयोग, घरेलु तथा साना उद्योगलाई
प्रबद्र्धन, पुंजी प्रविधिको सहयोग जस्ता विषयलाई पनि बजेटले समेटेको छ ।
महिला बालबालिकाको पक्षमा बजेट प्रस्तुत हुनु सकारात्मक छ । बजेट हरेक वर्ष
प्रस्तुत हुन्छ । तर यसपटकको बजेट विगतका वर्षहरु भन्दा राम्रो छ । सबै
वर्ग, क्षेत्रलाई बजेट परिणामुखी छ । समग्रमा बजेट एकदम राम्रो छ ।
कार्यान्वयनमा लाग्नुपर्छ । कार्यान्वयन भए जनता लाभान्वित हुनेछन् ।
जनतामा प्रत्यक्ष रुपमा पुग्नुपर्छ । बजेट कार्यान्वयन गर्न अनुगमन
प्रणाली, शुसासन, गुणस्तरीयतामा ध्यान दिनुपर्छ । कार्यान्वयन गर्ने
संयन्त्र बलियो बनाउनुपर्छ । सहकारीलाई सहुलियतपूर्ण कर्जा, आर्थिक वृृद्धि
र सामाजिक न्याय समावेशितामा आधारित बजेट छ ।
बजेटको कार्यान्वयन हुनुपर्छ
गणेश प्रसाद बेल्बासे-अध्यक्ष, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देही
विश्वव्यापी
रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मुख्यतः होटल र पर्यटन
क्षेत्र बढी प्रभावित भएको छ । यो क्षेत्रलाई सरकारले राहत प्याकेज उपलब्ध
गराउनुपर्छ भनेर सरकारसंग पटकपटक माग गर्दै आएका छौं । तर सुनुवाई भएको छैन
। यस पटकको बजेट जे जस्तो आएको छ । राम्रै मान्नुपर्छ । तर बजेटको
कार्यान्वयन हुनुपर्छ । बजेटको कार्यान्यवन हुन नसके जति राम्रो बजेट
प्रस्तुत गरे पनि त्यसको खासै महत्व हुँदैन जस्तो लाग्छ ।