मन्त्रीबाट हटे लगत्तै प्रदीप ज्ञवालीले गरे आफ्नो सम्पत्ति विवरण सार्वजनिक !

  • ख-
  • ख+

मन्त्रीबाट हटे लगत्तै प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफू पदमा रहँदा आफ्नो सम्पत्तिमा परिवर्तन नभएको जनाएका छन् । सम्पत्ति सम्बन्धमा उनले सामाजिक सञ्जाल मार्फत दिएको जानकारी यस्तो छ ।

धन्यवाद तथा आभार ,
करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रूपमा कार्यरत रहेर बिदा भएको छु । यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु । दायित्व सम्पादन गर्ने क्रममा प्राप्त सहयोग, प्रदर्शित टिम स्पिरिट एवं परिवार–सदृश वातावरण निर्माणका लागि मन्त्रालयका सचिवहरू शङ्करदास वैरागी (सम्प्रति मुख्यसचिव), भरतराज पौड्याल एवं समस्त परराष्ट्र मन्त्रालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु ।

समकक्षी विदेशमन्त्रीहरु, संयुक्त राष्ट्र सङ्घ लगायत बहुपक्षीय र क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरू तथा नेपालस्थित विदेशी नियोगहरूबाट प्राप्त सद्भाव र उहाँहरूसँगको सहकार्य मेरा लागि अविस्मरणीय रहने छ ।

सहकर्मी मन्त्रीहरुज्यूहरुसँगको बसाइलाई सदैभरि सम्झिरहने छु । । यस अवधिमा सञ्चारकर्मी साथीहरू एवं पूर्व कूटनीतिज्ञ, विज्ञ एवं यस क्षेत्रका जानकारहरूबाट कार्यसम्पादनमा प्राप्त सहयोग मेरा लागि मूल्य वान रहेको छ । मलाई यो अवसरको ढोका खोलिदिने गुल्मी–१ का मतदाताहरूप्रति कृतज्ञ छु ।

नयाँ जिम्मेवारीसहित गठित मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।

यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३०- र पारिश्रमिक बापतको लेभी ६,२०,००० गरी जम्मा ९,३४,९३० पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१.१३ सरकारी कोषमा दाखिला भएको छ । हाल मेरो खातामा ७,४१,७७५.६० बचत रहेको र केही घरायसी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।

मैले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप ९म्याकबुक प्रो० आजै मन्त्रालयलाई फिर्ता गरेको र पुलचोक स्थित सरकारी निवास भोलि बिहान छाड्ने जानकारी गराउन चाहन्छु ।
यस अवधिमा मप्रति माया, सद्भाव र शुभकामना व्यक्त गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद ।

भिन्न स्वरूपमा तपाइँहरुसँग भेट भइरहने र तपाईँहरूबाट सद्भाव प्राप्त भइरहने विश्वास लिएको छु ।
प्रदीप ज्ञवाली
२१ जेठ २०७८

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्