विजेताले ४ लाख रूपैयाँ पाउने
पोखरा । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा हुने ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा आगामी मंसिर ९ देखि १५ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरासहित विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब तथा कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए ।
‘हाम्रो प्रतियोगितालगत्तै दशौं राष्ट्रिय खेलकुद पनि भएकाले सबैसँग छलफल र समन्वय गरेर तयारी अघि बढाएका हौं,’ संयोजक गुरुङले भने, ‘६ टोलीबीच प्रतिस्पर्धा हुने भए पनि विदेशी खेलाडीसमेत सहभागी हुने भएकाले प्रतियोगिता भव्य र रोमाञ्चक हुने अपेक्षा गरेका छौं ।’
प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले २ लाख ५० हजार, तेस्रो हुने टोलीले १ लाख र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पाउनेछन् ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए ।
प्रतियोगिताका सबै खेल अवलोकन गर्न दर्शकका लागि सिजनल पासको शुल्क २ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । एकल खेलको टिकट दर भने केही दिनमै सार्वजनिक गरिने अध्यक्ष गुरुङले बताए ।
‘अहिले सिजनल पासको शुल्क निर्धारण गरेका छौं । केही दिनमै एकल खेलको टिकट दर पनि सार्वजनिक गर्छौं । खेलकुदको विकास र सामाजिक काममा खर्च गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । त्यसैले टिकट शुल्क धेरै महँगो हुने छैन,’ अध्यक्ष गुरुङले भने ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी खेलाडीका लागि आवास, यातायात तथा प्राविधिक व्यवस्थापनको व्यवस्था निःशुल्क गरिएको छ ।
प्रतियोगितालाई विभिन्न संस्थाको साथ
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न संघसंस्था तथा व्यापारिक प्रतिष्ठानले सहकार्य गरेका छन् ।
क्लबका सचिव अशोक थापाका अनुसार फ्रयाङ्कलिन एजुकेसन कन्सल्टेन्सीले एजुकेसन पार्टनरका रूपमा सहकार्य गरेको छ । त्यस्तै, मेडिकल पार्टनरका रूपमा जिएमसी हस्पिटलसँग सम्झौता भएको उनले जानकारी दिए ।
यसैगरी, प्रतियोगिताको ब्रोडकास्टिङ पार्टनरका रूपमा पब्लिक फोरके टेलिभिजनसँग सहकार्य गरिएको छ । अन्य विभिन्न संघसंस्था तथा कम्पनीसँग पनि सहकार्यका लागि छलफल भइरहेको सचिव थापाले बताए ।
आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ६१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।









