मानवीय सेवामा रेडक्रसको भूमिका प्रशंसनीय : मन्त्री थापा

  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले मानवीय सेवा रेडक्रसको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

सोमबार नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले समाज सेवामा रेडक्रसले उल्लेखिय काम गरेको बताए ।

उनले भने, ‘समाजमा रेडक्रसको भूमिका महत्वपूर्ण छ । जहाँ दुख छ,त्यहाँ रेडक्रस पुग्ने गरेको छ । परोपकारी संस्थाको रुपमा रेडक्रस परिभाषित छ । भूकम्पका बेला होस् या अन्य प्राकृतिक विपतका समयमा रेडक्रस सँधै अगाडि बढेको नकार्न सकिदैन ।’

मन्त्री थापाले कोभिडका समयमा सबै क्षेत्र ठप्प हुँदा एम्बुलेन्स सेवा र रगत अभावलाई परिपूर्ति गर्न रेडक्रसले पुर्याएको योगदानलाई प्रशंसा गरे । उनले भने, ‘हरेक क्षेत्र ठप्प हुँदा पनि रेडक्रस समाज सेवामा लागिरहयो । सबै कोरोनाबाट डराए तर रेडक्रसलाई मानवीय सेवामा समर्पित भएको देख्न पाइयो । महामारीमा एम्बुलेन्स सेवामा समस्या हुँदा समाधान भएर रेडक्रस उभियो । रगत अभाव समेत हुन दिएन । हाल केही हदसम्म भएको कोरोना नियन्त्रणमा रेडक्रसको भूमिका प्रशंसनिय छ ।’

प्रदेश सरकारले रेडक्रसलाई निरन्तर रुपमा सहयोग गर्दै आइरहेको र आगामी समयमा पनि गरिरहने प्रतिबद्धता उनको छ । मन्त्री थापाले रेडक्रसले पोखरा ८ सिर्जनाचोकमा बनाउँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ब्लड बैंकका लागि आवश्यक भवन निर्माणमा देखिएका समस्यालाई सम्बोधन गर्ने बताए ।

उनले निर्माणाधिन अवस्थामा रहेको भवन आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने भएकाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट केही बजेट विनियोजन गर्ने र अन्य आवश्यक स्रोत साधनका लागि सम्बन्धित मन्त्रालयसँग समेत पहलकदमी गरिदिने बताए ।

कार्यक्रममा रेडक्रस सोसाइटी गण्डकीका सभापति सुर्य ढकालले विपतका समयमा काम गर्ने संस्था रेडक्रस सरकारको साझेदार भएको उल्लेख गरे । उनले शिक्षा, स्वास्थ्य, खानेपानीको क्षेत्रमा रेडक्रसले काम गरिरहेको जानकारी गराए ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेले २०२२ सालमा झोलाबाट संचालन भएको रेडक्रस क्रियाशिलताका आधारमा आज यहाँसम्म आइपुगेको बताए । उहनले नागरिकलाई सरल रुपमा थप सेवा प्रवाह गर्न कास्की रेडक्रसले स्रोत साधनको उपलब्धतालाई थप विस्तार गरिरहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्