कविता:यथार्थ

  • ख-
  • ख+

लेखक:ईशा शाह ।

आगत र विगत
दुई किनार बनाएर
वर्तमान बग्ने जीवन हो मान्छे ।

विगत
जलेर खरानी भएको पानामा
मोटामोटी देखिने अक्षर हो
धमिला अक्षर पढ्न सकिन्छ
इतिहास बनेका पाना
कोट्याउन सकिन्न
अक्षर सदाका लागि बिग्रन्छन्
हातमा कालो मात्र लाग्छ ।

मीठो, मोहिनी, सप्तरङ्गी आगत
मृगतृष्णाको प्यारो सावक बनेर
वर्तमानको आँखामा बुर्कुसी मारिरहन्छ
ठुटा हातहरू रहरले छुन खोज्छन्
सुम्सुमाउन खोज्छन्
म्वाइ खान खोज्छन्
जिजिविषाका निलकाँडा
यति नै बेला चस्स बिझ्न पुग्छ
अनि आगत तत्कालै चकनाचुर हुन्छ ।

मान्छे आगतलाई
विगतको कालो टिका लगाई दिएर
वर्तमानमा बाँच्न बाध्य हुन्छ
त्यसैले
मान्छे यथार्थमा
वर्तमान बग्ने जीवन हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्