प्रेस चौतारीको नवौं महाधिवेशनलाई जनवर्गीय संगठनको साथ

  • ख-
  • ख+

पोखरा ।
नेकपा (एमाले)का जनवर्गीय संगठनका प्रतिनिधिहरुले पोखरामा यही फागुन २७ र २८ मा हुने प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सभ्य र भव्य बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले महाधिवेशनको व्यवस्थापनदेखि आर्थिक भौतिक रुपमा सहयोग गर्ने जनाए ।

महाधिवेशन मूल व्यवस्थापन समिति अन्तर्गतको जनवर्गीय संयोजन समितिले सोमबार आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सदस्य तथा उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संयोजक धनबहादुर नेपालीले महाधिवेशनको लागि सबै किसिमको सहयोग गर्ने बताए ।

पार्टीका नीति विचारलाई जनता समक्ष पु¥याउनमा ध्यान दिन पर्ने सुझाव दिए । ‘स्थानीय पार्टी कमिटी जनमत तयार गर्न महाधिवेशन सहयोगी बन्न पर्छ,’ उनले भने, ‘आसन्न स्थानीय लगायतका निर्वाचनमा ४ देखि ५ प्रतिशत मत बढाउन जनवर्गीय संगठनका अधिवेशन तथा महाधिवेशनले सहयोग पु¥याउनु पर्छ ।’ पोखरा महानगरका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष समेत रहेका नेपालीले महाधिवेशनका सबै गतिविधिलाई पर्यटनसँग जोड्न सुझाव दिए ।

प्रेस चौतारीको टिसर्ट लगाएर प्याराग्लाइडिङ उडाउनेदेखि टिकटक लगायतका सामाजिक सञ्जालमा महाधिवशन छाउन पर्ने उल्लेख गर्दै उनले नवौं महाधिवेशनमा ९ वटा बेञ्च फेवाताल किनारमा राख्न आग्रह गरे । उनले महाधिवेशनलाई सिर्जनात्मक र रचनात्मक बनाउन सुझाव दिए ।

पेशागत महासंघ नेपालका सचिवालय सदस्य तथा गण्डकी प्रदेशका संयोजक रामप्रसाद खनालले धेरै भन्दा धेरै क्षेत्रमा पुगेर महाधिवेशनका प्रचार प्रचार र सहयोग जुटाउन सुझाव दिए । उनले सार्वजनिक संस्थान, बैंक तथा वित्तिय क्षेत्र, निजी विद्यालय लगायतका क्षेत्रलाई समेट्न आग्रह गरे ।

अनेरास्ववियुका स्थायी समितिका सदस्य आशीर्वाद सुवेदीले आयोजकले दिएको जिम्मेवारी र भूमिकालाई पुरा गर्ने बताए ।

अनेरास्ववियु गण्डकीका संयोजक प्रकाश पौडेलले व्यवस्थापन पक्षलाई चुस्त दुरुस्त बनाएर महाधिवेशनलाई उत्सवको रुपमा लैजान सुझाव दिए । उनले मातृ पार्टीलाई सहयोग गर्ने सञ्चार माध्यमहरु बढाउन आग्रह गरे ।

कार्यक्रममा उपस्थित विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरुले प्रेस चौतारीले जनसंगठनसँग समन्वय थालेर गण्डकीमा पहिलो राम्रो अभ्यासको थालनी गरेकोमा बताए ।

महाधिवेशन व्यवस्थापन समितिका संयोजक तथा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेले सबैको साथ सहयोगमा नै महाधिवेशनलाई सफल बनाइनेमा आफू विश्वस्त रहेको सुनाए ।

कार्यक्रममा प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका सहइञ्चार्ज तथा जनवर्गीय संगठन संयोजन समितिका संयोजक श्याम कुँवर, अनुगमन समितिका संयोजक बद्रीविनोद प्रतिक, आर्थिक समितिका संयोजक पुण्य पौडेल, मञ्च व्यवस्थापन समितिका संयोजक रामजी लम्साल, पेशागत महासंघ नेपाल कास्कीका उपाध्यक्ष चित्रबहादुर थापा, नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर खत्री, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष विष्णु पुन, राष्ट्रिय युवा संघ नेपाल गण्डकीका सचिव सुवास सापकोटा, नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य तथा कास्कीका अध्यक्ष कृष्ण केसी, नेपाल निजामति कर्मचारी संगठन कास्कीका अध्यक्ष अशोक खनाल, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ कास्कीका अध्यक्ष कृष्ण तिवारी, विद्यार्थी नेताहरु विजय पौडेल, सन्तोष पोखरेल, जनसांस्कृतिक महासंघ कास्कीका नेता सुवास मल्ल लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्