अलबिदा निसिम !

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । मंगलबारसम्ममा प्याराग्लाइडिङका इभेन्टको छिनोफानो भइसक्थे । प्याराग्लाइडिङका पाइलटहरु, यो क्षेत्रका विज्ञहरु र खेलमै सहभागी अन्य खेलाडीहरु नै स्विकार्थे, “निसिम पदकका दाबेदार हुन ।”
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध भएर त्यतिबेलै निसिमले आफ्नो क्षमता देखाउँदै रजत जितेका थिए । उनले त्यतिबेला रजत मात्र जितेनन, स्वर्णको लागि सम्भावनाको ढोका खुलै छ भनेर आफ्नो कौसलद्वारा त्यसलाई प्रमाणित पनि गरे ।

हावाको वेगसँग पाँैठेजोरी खेल्दै पदक जित्नु पक्कै सानो कुरा होइन । ती अनेकन संघर्षसँग पछिल्लो दशकयता लगातार पोखराको आकाशमा जुधिरहेका निसिमको जीवनमा अब मंगलबार आउनेछैन । अन्यथा सोमबार बिहान पनि उनी सराङकोट तिरै हुन्थे वा उडान भरेर फेवा किनारमा सुस्ताइरहेका हुन्थे ।

तर, आज उनले सराङकोटबाट उडान भरेनन, न फेवा किनारको प्याराग्लाइडिङ ल्याण्ड गर्ने समथर भूभागमा नै थिए । उनी बिहानसम्म पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनमा थिए, त्यसपछि बौद्ध अर्घौँ सदन अनि रामघाट ।
उनलाई ल्याइएको सवारी मालाले ढाकिएको थियो, त्यसमा एउटा ठुलो फ्लेक्समा मुस्काइरहेका निसिमको तस्बिर थियो । अनि लेखिएको थियो,

“हार्दिक श्रद्धाञ्जली, जन्म ः २०५१÷३÷२०, स्वर्गारोहण ः २०७९÷६÷३० ।”
मुस्काइरहेको फ्लेक्स बोकेको गाडीमा कहिल्यै नउठ्ने गरि सुस्ताइरहेको एउटा शव थियो । तस्बिरमा जस्तो मुस्कान थिएन । गाडीमा सवार एक व्यक्तिले उनै निसिमको रंगीन तस्बिर बोकेका थिए । फुंग उडेको अनुहार लिएर रंगीन तस्बिर बोक्ने अरु कोही थिएनन, थिए त निसिमका आफ्नै बुवा प्रकाश थापा ।

गाडीको पछाडि थिए, आर्मीका अधिकारीहरुको लस्कर, खेलकदुका पदाधिकारीको सहभागिता, पोखराका मेयर देखि राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी, खेलप्रेमी अनि आफन्तको रोदन र क्रन्दन ।
आमा सावित्री मोक्तानको बिलौना आइतबारदेखि उस्तै छ । बौद्ध अर्घौँ सदनमा लामाले मृत्युसंस्कार पाठ पढ्दै गर्दा छोरालाई चुम्न पुगेकी मोक्तानले भगवानलाई पुकार्दै थिइन, “तिमीले मेरो प्रार्थना एक सेकेन्ड सुनेनौ, तिमीले सुन्नुपथ्र्यो ..।”
आमाबाबुको रोदन, क्रन्दनमा उनै निसिम थिए । जो उनीहरुका एक्ला सन्तान थिए । मुटुको टुक्रा थिए । त्यही भएर त उनीहरु छियाछिया हुन पुगे ।

निसिम अब रहेनन ।
जति चोट आमाबाबुलाई प¥यो देशलाई पनि उत्तिकै होनहार खेलाडीको खति भयो । निसिम अब हावामा उड्ने छैनन ।
संस्कार अनुसार पूजा सकिएपछि निसिमलाई त्यही अर्घौँ सदनमा रहेको विद्युतीय शवदाह गृहमा लगियो । नीर्जिव उनको शरीको अस्तित्व खरान भयो ।
अलबिदा निसिम ।
……………
नेपाली खेलकुद इतिहासमा प्याराग्लाइडिङ गत राष्ट्रिय खेलकुदमा मात्रै समावेश हुन पुग्यो । २०७५ मा भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक प्याराग्लाइडिङ खेल समावेश भएको थियो ।
यही प्रतियोगिताबाट २५ वर्षीय निसिम थापाले नेपाली आर्मीबाट क्रसकन्ट्री समूह इभेन्टमा रजत जिते । उमेर थियो २३ वर्ष ।
कलिलो उमेरमा विभागीय टिमबाट खेलेर रजत जित्दै गर्दा उनको लक्ष्य थियो, अर्को राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि भाग लिने र स्वर्ण जित्ने ।
पछिल्लो दशकदेखि पोखराको आकाशमा प्याराग्लाइडिङ उडाइरहेका थापाको तयारी पनि सोही अनुसार नै थियो । टेन्डम देखि सोलो उडानमा उनी पोख्त थिए ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा भयो, प्याराग्लाइडिङ पनि समावेश भयो । आफूलाई तयार पारेका निसिम यसपटक स्वर्णका लागि पोखरेली आकाशमा उडान भर्न आफूलाई तयार गर्दैथिए । प्रतियोगितामा सहभागी विभागीय टिम नेपाल आर्मीले यसपटक पनि उनलाई अनुबन्ध ग¥यो ।
क्रसकन्ट्री, क्रसकन्ट्री टिम र अक्युरेसी विधामा प्याराग्लाइडिङ खेल समावेश गरिएका थिए । यही विधामध्ये क्रसकन्ट्रीतर्फको उडानको लागि उनले ग्लाइडर तयार गरे । अनुभव र उत्साहका साथ आइतबार मध्यान्हमा खुलेको आकाशमा उनी देशको लागि खेल्दै थिए । ग्लाइडर तयार गरे, उडान भरे र आकासिन खोजे ।
जब निसिमले सराङकोटको डाँडाबाट धर्ती छाडे, उनी करिब १०० मिटर माथिसम्म पुगे । उनको ग्लाइडर खुलेन ।
आकाशमा उडेका थापा जमिनको नजिकै आए र बजारिन पुगे ।
“हाम्रो भाषामा अटोरोटेसन भन्छ । कोल्याप्स भनिन्छ । त्यसलाई कभर गर्दागर्दै अटो हुन पुग्यो, अनि रोटेट भएर क्र्यास भयो । हावाको चाप नियन्त्रणमा लिन खोज्दाखोज्दै लो मा आाएछ । अनि जमिनमा शरिर ठोकिन पुग्यो ।” नेपाल प्याराग्लाइडिङ पाइलट क्लवका अध्यक्ष विमल पहारीले भने ।
दुर्घटनाग्रस्त भएका थापालाई तत्काल उपचारका लागि मेट्रोसिटी अस्पताल लगियो । तर, टाउकोमा चोट लागेका थापलाई अस्पतालले मृत घोषणा गरिदियो ।
“क्रसकन्ट्रीका राम्रा प्लेयर हुन । विभिन्न प्रतियोगितामा भाग लिइरहन्थे । लामोदुरीका राम्रा पाइलट हुन । हामी बिहान पनि भेटेका थियौँ, बेस्ट अफ लक भनेर तल झ¥यौँ, तर ब्याडलक हुन पुग्यो ।” पहारीले भने ।
थापा प्याराग्लाइडिङ खेलतर्फ आइतबारको इभेन्टमा सुरुमा उडेका थिए । उनलाई रेफ्री सुरेन गुरुङले आकाशबाटै हेर्दै थिए । प्रतियोगिता सुरु गर्नुअघि आवश्यक तयारी पुरा भएपछि हावाको चाप र मौसमका अवस्था बुझ्न सबैभन्दा पहिला रेफ्री सुरेन प्याराग्लाइडिङमा उडे । उनले नै हावाको चाप नर्मल भएपछि थापालाई उडान अनुमति दिएका थिए ।
तर, पोखरेली आकाशमा सिकेको प्याराग्लाइडिङ आइतबार उनको लागि अनुकुल भएन ।
राष्ट्रिय खेलकुदका इभेन्टहरु पिक आवरमा पुगेको बेला आइतबार पोखरेली आकाशले एउटा प्रतिभा गुमायो । प्याराग्लाइडिङ खेलाडीका रुपमा अन्तर्राष्ट्रिय मान्यता पाएका पाइलट निसिमले नेपालमा मात्र होइन, भारत, इन्डोनेसिया, कोरिया लगायतका देशमा पनि प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिन पुगेका थिए । पोखरामा व्यवसायिक प्याराग्लाइडिङ उडाउँदै आएका निसिमले विभिन्न प्रतिष्पर्धामा माग लिएका छन ।
नेपाली सेनाको मध्यकमाण्ड हेर्डक्वाटरका पृतनापती बाबुराम श्रेष्ठले भने, “दुर्भाग्य भयो, पदकभन्दा ज्यान ठुलो थियो । उहाँ राम्रो खेलाडी हुनुहुन्थ्यो ।”
थापाले नै अघिल्लो राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीकै तर्फबाट भाग लिएर रजत जितेका थिए ।
यसपटक पनि आर्मीले प्याराग्लाइडिङका सबै इभेन्टमा भाग लिएको थियो । “लक्ष्य सबै इभेन्टमा भएतापनि उहाँले स्वर्ण जित्नेमा हामी विश्वस्त थियौँ ।” कर्णेल मुनाल बस्नेतले भने ।
तर, थापा नै रहेनन । देशले एउटा खेलाडी गुमायो, प्याराग्लाइडिङका सबै इभेन्ट रद्ध भए । प्याराग्लाइडिङ नै अनिश्चितकालका लागि बन्द भएको छ ।
पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत थापाका नजिकका साथी हुन असिम गुरुङ । असिमलाई निसमले शनिबार भेट्ने भन्दै थिए । तर, व्यस्तताले दुइजनाको भेट हुन सकेन । बिहानै जिममा भेटिरहने उनीहरु सानैदेखिका साथी हुन । कक्षा १२ दुवैले सँगै पढे ।
थापाले आफू प्याराग्लाइडिङमा आर्मीको तर्फबाट खेल्ने भनेर सुनाएका पनि थिए । त्यसकै तयारीमा व्यस्त होला भनेर उनले थापालाई शनिबार भेटेनन ।
तर, आइतबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रांगणमा उनका बाल्यकालीन साथी पोष्टमार्टम भवनमा थिए । अनि असिमचाहिँ आँखामा आँसु लिएर, त्यही भवन बाहिर ।
ङ्गहामीलाई सहयोग गथ्र्यो । बिचरा उसको दाई (दाइ पर्ने) पनि यस्तै प्याराग्लाइडिङ दुर्घटनामानै बितेका हुन । यो पनि त्यस्तै भयो, मन नै कस्तो … ।”
उनको गला रोकियो ।
उनी बोल्दै गर्दा पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएका छोरालाई सम्झेर आमाले बिलौना गर्दै थिइन ।
गोरखा पालुङटार जन्मिएका थापा आमाबुवाका एक्ला सन्तान हुन । बाबु पोखरामै भएतापनि आमा चाहिँ काठमाण्डौमा थिइन । बिहान साढे ११ बजे आकाशमा उडेका थापाको प्राण नफर्किने गरि उडिसक्दा आमालाई थाहा थिएन । प्रहरीले नै अस्पताल ल्याइसकेपछि बुवाले पनि थाहा पाए ।


थापाका बाबुआमा शिक्षण पृष्ठभूमिका हुन ।
काठमाण्डौमा रहेकी आमालाई नेपाली सेनाले हेलिकप्टरमा पोखरा ल्यायो । पोखरा आएर मेट्रोसिटी अस्पतालमा रहेको छोराको शव उनले हेर्न सकिनन । सकिन त मात्र रुन र भगवानलाई पुकार्न … ।
निसमलाई त्यहाँबाट पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगियो । बुबा सम्हालिँदै थिए, आमाले जसरी भएपनि अन्तिमपटक छोराको मुख हेर्ने भनेर रोहिरँदा अस्पताल परिसर नै भावविह्वल बन्न पुग्यो ।
पोष्टमार्टम भवनभित्र राखिएको कोल्ड स्टोर्सबाट थापाको मृत शरीर देखाइयो । त्यसलाई अँगाल्दै आमाले भनिन, “छोरा भनेको मान्थ्यौ, तर भगवानले एक सेकेण्ड सुनेनन, भगवानले सुन्नुपथ्र्यो …।”
उनी अब रहेनन । आकाशमा उड्ने उनको सपना, आकाशमै उडिगयो । उनी गए, आफ्ना सपना थाती राखेर, बुवाआमाको सपना थाती राखेर ।
प्याराग्लाइड खुम्चिएर खसेका थिए पाइलट निसिम
गण्डकी, बागमती, प्रदेश– १ नेपाली सेना, सशस्त्र प्रहरी बलबाट ४÷४ जना खेलाडी प्रतियोगितामा सहभागी थिए । कर्णाली प्रदेशबाट १ जना खेलाडी पनि प्याराग्लाडिङमा भाग लिएका थिए ।
प्याराग्लाइडिङमा जम्मा २५ जना खेलाडी सहभागी प्रतियोगितामा आइतबार निसिम आठौं नम्बरमा आएका थिए । सोमबार र मंगलबार उडान सकेपछि प्याराग्लाइडिङको फाइनल हुन्थ्यो । रेफ्रि सुरेनका अनुसार सबै खेलाडीको प्याराग्लाइडिङमा जिपिएस जडान गरिएको थियो । पाइलट उडेर कहाँसम्म पुग्ने जिपिएसमै प्वाइन्ट गरिएको थियो । खेलाडीका जिपिएस सिस्टममा राखेपछि रिजल्ट आउँथ्यो ।
प्रतियोगिताका क्रममा खेलाडीको निधन भएपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्याराग्लाइडिङ खेल स्थगित भएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ उडाउन नेपाल नागरिक उड्यन प्राधिकरणसँग अनुमति नलिएको पाइएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपले प्याराग्लाइडिङ उडाउन प्राधिकरणसँग अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । तर राखेपले प्राधिकरणको कुनै पनि कार्यालयबाट अनुमति नलिएको नागरिक उड्यन कार्यालय पोखराका प्रमुख विक्रम गौतमले बताए ।
यता, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य अन्जन धमलाले नेपाल सरकारकै कार्यक्रम भएकाले अनुमति नलिएको प्रतिक्रिया दिए ।
उनको शव आइतबार पश्चिमाञ्चल अस्पतालमा नै पोष्टमार्टम गरेर राखिएको छ । सोमबार बिहान १० बजे रामघाटमा नेपाली सेनाको उपस्थितीमा परिवारले शवको अन्त्येष्टि गर्नेछ ।
अन्त्येष्टिमा उनलाई राष्ट्रिय सम्मान दिनको लागि छलफल भएतापनि करारका खेलाडी भएका कारण सेनाको कार्यविधी अनुसार उक्त सम्मान भने दिन नमिल्ने पृतनापति बाबुराम श्रेष्ठले जानकारी दिए ।
थापाको निधन भएपछि म्याग्दीमा जारी महिला भलिबल खेलाडी देखि उपस्थित दर्शक, पदाधिकारीहरुले शोक प्रकट गर्दै मौनधारण गरेका छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्