ट्राफिक चेकजाँचमा कारवाहीमा पर्नेको संख्यामा वृद्धि,२ करोड २९ लाख रुपैयाँ राजस्व संकलन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

गणेश रामदाम/पोखरा । ट्राफिक चेकजाँचमा कार्वाहीमा पर्नेको संख्यामा वृद्धि भएको छ । गत आ.व को भन्दा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा  कार्वाहीमा पर्नेको संख्यामा वृद्धि भएको हो । गत आ.व . २०७८/७९ प्रथम चौमासिकमा १४ हजार ६ सय १४ जनालाई कार्वाही गरिएकोमा यस आ.व. २०७९/८० को प्रथम चौमासिकमा २६ हजार ६ सय ४८ जना सवारी चालकलाई कार्वाही गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका अनुसार यस वर्ष मादक पदार्थ सेवन गरि सवारी साधन चलाउनेको संख्या पनि वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७८/७९ पहिलोको चौमासिक तथ्यांकअनुसार ७ सय ५५ जनालाई मा.प.से. मा कार्वाही गरिएकोमा यस वर्ष चार गुणा वृद्धि भएको छ । आ.व. २०७९/८० को पहिलो चौमासिक तथ्यांक अनुसार ३ हजार ३४ सवारी चालक कार्वाहीमा परेका छन ।

जसमा सबै भन्दा धेरै मोटरसाइकल चालक १ हजार ७ सय ६९ जना, जिप/कार चलाउने १ हजार २ सय ३४ जना र ट्रक/टेङ्कर चलाउने ३१ जना गरि कुल ३ हजार ३४ जना लाई मा.प.से.मा कार्वाही गरेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक शिव प्रसाद पाठकले जानकारी दिए ।

राजस्वमा वृद्धि:

ट्राफिक कार्वाहीबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा राजस्व गत आ.व. को प्रथम चौमासिकको भन्दा दोब्बरले वृद्धि भएको छ । आ व २०७८/७९ को प्रथम चौमासिकमा १ करोड ३२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्ष २०७९/८० को प्रथम चौमासिकमा २ करोड २८ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यस आ.व २०७९/८० मा मा.प.से. कार्वाहीबाट अहिले सम्मकै धेरै राजस्व संकलन भएको छ । यस वर्षको प्रथम चौमासिकमा ३ हजार ३४ चालकलाई मा.प.से कार्वाही गर्दा ३९ लाख ५ हजार रुपैया राजस्व संकलन भएको छ । गत आ.व.को प्रथम चौमासिकमा ७५५ जना लाई मा.प.से कार्वाही गर्दा ७ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

 सवारी चेकिङ्गले दुर्घटनामा ज्यान गुमाउनेको संख्यामा कमि:

जिल्ला ट्राफिक कार्यालय कास्कीको सवारी चेकिङ्गलाई सक्रियताका साथ गरिरहेको छ । जसको परिणाम राजस्वमा वृद्धि भएको छ भने सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्यामा पनि कमि आएको छ ।

गत आ.व.को प्रथम चौमासिकमा ३६ वटा सवारी दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । यस आ.व. मा ४१ सवारी दुर्घटना १३ जनाले ज्यान गुमाएका छन भने ४० जना घाइते भएका छन ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका अनुसार यस आ.व. मा जनचेतनाका कार्यक्रममा पनि वृद्धि भएका छन गत आ व २०७८/७९ पहिलो चौमासिकमा ८५० वटा जनचेतनाका कार्यक्रममा ५० हजार ५ सय जना सहभागी थिए । यस आ व २०७९/८० को पहिलो चौमासिकमा ९४८ पटकको जनचेतनामूलक कार्यक्रममा ६८ हजार ७० जना प्रशिक्षण गराइएको सूचना अधिकारी पाठकले जानकारी दिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्